जनता टाइम्स

१२ बैशाख २०८०, मंगलवार १२:५४

‘प्रचण्डले कार्यशैली सुधार नगरे माओवादी पनि सकिन्छ’


काठमाडौं, बैशाख १२ । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल भए माओवादी पनि सकिने उदघोष गर्नुभएको छ । प्रचण्ड नेतृत्वको सरकारको कार्यसम्पादन जुन उचाईबाट हुनुपर्ने हो त्यो नभएको भन्दै यस्तै शैली रहे माओवादी सकिने उहाँको निश्कर्ष छ ।

‘आदरणिय पार्टी अध्यक्ष–प्रधानमन्त्रिको ध्यानकर्षण होस् १ सरकार असफल हँदा माओवादी पनि सकिन्छ, जुन उचाईबाट सरकारको कार्यसम्पादन हुनुपर्ने हो, भइरहेको छैन।’ फेसबुकमार्फत सापकोटाले भन्नुभएको छ, ‘यतिबेला मात्रै सरकार सफल हुन्छ जतिबेला जनता, कार्यकर्ता र नेतालाई आफ्नो जस्तो लाग्छ।’

ढ्याउँ गरेर डकारीरहेको सिंहदरबारलाई छाक टार्न लडिरहेका तलकाहरूले सधैँ बोक्न नसक्ने उहाँको बुझाई छ। अब बोल्न सुरू गर्नुपर्ने बताउँदै वाईसीएलका पूर्व अध्यक्ष सापकोटाले नबोल्दा र आफ्नै हुन भनी सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भएको टिप्पणी गर्नुभयो । ‘अब बोल्न सुरू गर्नुपर्छ। नबोल्दा र आफ्नै हुन भनी सहँदा अस्तित्व नै समाप्त हुनेतिर उन्मुख भयो। बढी भए अर्थ न बर्थको जिम्मेवारीबाट मुक्त होइन्छ। अरू कै नै जान्छ र ?’ उहाँको भनाई छ ।