जनता टाइम्स

१२ बैशाख २०८०, मंगलवार १३:०५

काठमाडौं महानगरले चलायो पुरानो बसपार्कको प्रहरी बिटमा डोजर


काठमाडौं, बैशाख १२ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका प्रहरी बिट अनधिकृत रूपमा बनाइएको भन्दै डोजर चलाएको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाडौंको पुरानो बसपार्कस्थित प्रहरी बिट हटाएको हो ।

यस्तै सडक छेउछाउमा रहेका प्रहरी बिटलाई मापदण्ड ल्याएर महानगरले ठाउँ उपलब्ध गराएको छ। मेयर बालेन शाहले गत चैतमा महानगरका विभिन्न १९ ठाउँमा रहेका प्रहरी बिट सडकपेटी मिचेर बनाइएको भन्दै त्यसलाई हटाउन निर्देशन दिनुभएको थियो । मेयर बालेनले आफ्नो स्टाटसमा त्यस्ता प्रहरी बिटको सूची सार्वजनिक पनि गर्नुभएको थियो ।

तिनमा वडा नम्बर ४ स्थित बालुवाटारको प्रधानमन्त्री निवासअगाडि, वडा २६ को सामाखुसीमाथि ढलान गरेको स्थानमा, वडा ३२ को जडिबुटी चोक, वडा ९ को सिनामंगल चोक, वडा १७ को ढल्को, वडा १८ को ताम्सीपाखा, वडा २९ को मैतीदेवीस्थित रूद्रमतीका प्रहरी बिट छन्।

त्यस्तै वडा २७ स्थित असन चोक, वडा २२ को न्यूरोड पिपलबोट, वडा २० को चिकमंगल, वडा १७ को धोबीचौर, वडा ३१ को देउराली क्लब, वडा ७ को रातोपुल, वडा १३ को ताहाचल, वडा ९ को त्रिभुवन विमानस्थलअगाडि, वडा १६ को माछापोखरी, वडा ६ को चुच्चेपाटी र बौद्ध प्रहरी वृत्त अगाडिका प्रहरी बिटहरू बाटो मिचेर बनाइएको बालेनले उल्लेख गर्नुभएको छ।