काठमाडौं, बैशाख १३ । बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा तहनुँ १ र चितवन २ मा घन्टी चम्कदा बारा–२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल बिजयी तनहुँ २ मा डा. स्वर्णिम वाग्लेको जीतसँगै देशभर रास्वपाको पक्षमा लहर आएको बताइरहँदा बारामा जमानत जफत भएको हो । बारा २ मा रास्वपाका खरेलसहित ३१ जना उम्मेदवारको जमानत जफत भएको छ ।
निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानुनी प्रावधान रहेको छ । आज बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार खरेलले २ हजार ८ सय २९ मत मात्रै पाउनु भयो ।
बारा–२ का मुख्य निर्वाचन कार्यालयका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ । जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उहाँको जमानत जफत भएको हो ।
बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र १० प्रतिशत मत मात्र कटाउनु भएको छ । सत्तागठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यादवका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाउनु भएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याउनु भएको छ ।
उपनिर्वाचनमा उम्मेदवार बनेका बाँकी ३१ जनाको जमानत जफत भएको हो । बारा २ मा प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवालीले २ हजार ७३८ मत पाउनु भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद सा तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेमकिपाका मुक्ति प्रसाद यादवको पनि जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैगरीे संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोदराम चमार र २४ स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको हो । तनहुँ र चितवनको परिणामले उत्साहित बनेको रास्वपा बाराको परिणामले भने झडका लागेको छ ।













प्रतिक्रिया दिनुहोस्