काठमाडौं, बैशाख १३ । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पौड्यालले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सरकारबाट आधिकारिक जानकारी नआएकाले अवस्था के कस्तो छ ? यसबारेमा संसदनमा जानकारी गराउन माग गर्नुभएको हो ।
‘हाम्रा राष्ट्रपतिज्यूको १० दिनदेखि भारतमा उपचार भइरहेको छ भन्ने जानकारी पाएका छौं। तर, सरकारबाट आधिकारिक कुरा केही आएको छैन। के भएको हो उहाँलाई ? नेपालमा उहाँको उपचार हुन्थ्यो कि हुन्नथ्यो ? उहाँको सुधार के भइरहेको छ ? यो विषयमा सरकारले जनताहरूका लागि सदनमा जानकारी गराउनुपर्छ,’ सांसद पौड्यालले भन्नुभयो, ‘किनभने राष्ट्रपति यो देशको अभिभावक हो। अभिभावक बिरामी भएर छिमेकी मुलुकमा उपचार गराइरहनु भएको छ।’
सांसद पौड्यालले वीर अस्पतालमा भीभीआईपीको उपचारका लागि राखिएको कक्षमा धूलो लागेको भन्दै आपत्ती पनि जनाउनु भयो । उहाँले नेपालमा कुन कुन रोगको उपचार हुँदैन र त्यसको सुधारका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
‘हाम्रा भीभीआईपीहरू धेरैजसो बाहिर गएर उपचार गराइरहनु भएको छ। कुन कुन रोगको नेपालमा उपचार हुँदैन। त्यसको सुधारका लागि के गर्नुपर्छ भन्ने विषयमा सरकारले ध्यान दिनुपर्छ भन्ने लाग्छ,’ सांसद राईको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्