काठमाडौं, बैशाख १४ । नेकपा एमालेले मुलुकको शान्ति सुरक्षाको स्थितिमा सङ्कट पैदा हुँदै गएको र सुरक्षा निकाय शान्ति सुरक्षा कायम गर्न असफल भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । एमाले प्रतिनिधिमण्डलले आज उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी यस्तो ध्यानाकर्षण गराएको हो ।
एमालेले आफ्ना शीर्ष नेताहरूको सुरक्षा आफै गर्नुपर्ने स्थिति नआओस भन्ने चेतावनीसमेत दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि बुधबार झापामा गरिएको आक्रमण प्रयास र गत साता राजधानीमा दिन दहाडै भएको महिलाको हत्याको घटनालाई लिएर एमालेले शान्ति सुरक्षामाथि प्रश्न उठाएको हो ।
पार्टीका स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको नेतृत्वमा गएको टोलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई भेटी अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयासमा संलग्न उच्छृङ्खल तथा अराजक व्यक्तिहरूलाई कडा कारवाही गर्न र देशमा शान्ति सुरक्षाको विश्वसनीयता कायम गर्न जोडदार माग गरेको छ । देशको प्रमुख पार्टीका प्रमुख नेता, पूर्वप्रधानमन्त्रीमाथि भएको आक्रमणको प्रयासलाई पार्टीले अत्यन्त गम्भीरतापूर्वक लिएको कुरा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठसँग राखेको नेकपा (एमाले) का नेता डा. भट्टराईले वताउनुभयो ।
‘कोशी प्रदेश’ नामाकरण संविधान र कानुन बमोजिम टुङ्गो लागिसकेको विषयमा आफ्ना कार्यकर्ताको कुरा सुनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्णय गर्नु गल्ती भएछ भनी द्वेध चरित्र देखाएको र उहाँकै उक्साहटमा कोशी प्रदेशमा विरोधले उग्ररूप लिएको वताउँदै डा. भट्टराईले सरकारको नेतृत्वका कारण देश अराजकतातर्फ गइरहेको कुरा उपप्रधानमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराइएको वताउनुभयो ।
देशका शीर्ष नेताहरू समेत सुरक्षित नहुने हो भने अरू सर्वसाधारण नागरिकले कसरी सुरक्षा अनुभूति गर्ने ? प्रश्न खडा भएको बताउँदै सरकारले शान्ति सुव्यवस्था कायम गर्न सक्दैन भन्ने निष्कर्षका साथ पार्टीले आफ्ना नेताहरूको सुरक्षा आफै गर्नुपर्ने परिस्थिति सिर्जना नहोस् भनी एमालेले सरकारलाई चेतावनी दिएको छ ।

यसैगरी, गतसाता काठमाडौंको चावहिल सरस्वती नगरमा आफ्नो पसलमा बसिरहेकी नीरा पाण्डेको दिन दहाडै हत्या भएको र घटनाको एकसाता वित्दा पनि प्रहरी प्रशासनले घटनामा संलग्नलाई पक्राउ नगरेकोमा पनि एमाले टोलीले गम्भीर आपत्ति प्रकट गर्दै दोषी पत्ता लगाई तत्काल कारवाही गर्न माग गरेको छ । भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर पनि हुनुहुन्थ्यो ।
नेता डा. भट्टराईको नेतृत्वमा उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्न गएको टोलीमा पार्टीका पोलिटव्यूरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, नेकपा (एमाले) काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला, सरस्वती नगरमा हत्या भएकी नीरा पाण्डेका दाजु ज्ञानु पाण्डे लगायत हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्