जनता टाइम्स

१४ बैशाख २०८०, बिहीबार १९:३६

अयोग्य लडाकूलाई पैसा बाँडने निर्णयको बिरोधमा उत्रिए शेखर–गगन


काठमाडौं, बौख १४ । अयोग्य लडाकूलाई २ लाख दिने सरकारको निर्णयबिरुद्ध सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले कडा आपत्ति जनाउनु भएको छ ।

कोइराला र थापाले सामाजिक सञ्जालमै यो निर्णय गलत रहेको भन्दै रोक्नुपर्ने बताउनु भएको छ । कांग्रेस नेता शेखर कोइरालाले अयोग्य लडाकुहरुलाई राहतको सट्टा रोजगारीको प्रबन्ध गर्नु उपयुक्त हुने सुझाव पनि दिनुभएको छ ।

‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाबकिताब बुझाउन नसक्नु, द्वन्द्वकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्वशिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्वअयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य हुनै सक्दैन,’ कोइरालाले भन्नुभएको छ, ‘माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं । उनीहरुलाई पैसा होइन, रोजगारी दिऔं ।’

कांग्रेस महामन्त्री थापाले पनि निर्णय रोक्नुपर्ने बताउनु भएको छ । ‘राज्यकोषमा स्रोतको व्यापक दबाब परेको यो समयमा राज्यकोषबाट ठुलो रकम अयोग्य लडाकुलाई बाँड्ने सरकारको निर्णय गलत छ, रोक्नुपर्छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचारधिन रहेकोले सरकार रकम बाँड्न होइन पिडितमैत्री कानून बनाई संक्रमणकालीन न्यायको कामलाई शिघ्र टुंग्याउन केन्द्रित होस,’ थापाको भनाई छ ।