जनता टाइम्स

१७ बैशाख २०८०, आईतवार १७:५४

सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुङ्गामुढा गरे, सरकार मूकदर्शक बन्यो – अध्यक्ष ओली


काठमाडौं, १७ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मूकदर्शक बनेको बताउनुभएको छ । पार्टी निकट अखिल नेपाल किसान महासङ्घले आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरूमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकिर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारूढ दलकै कार्यकर्ताहरूले ढुङ्गामुढा गरेको पनि बताउनुभयो ।

हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुङ्गा हान्ने, काँही भिडन्त गर्न आउने गरे पनि सरकारले भने त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, ‘हामी देशका विभिन्न ठाउँमा कार्यक्रममा जाने क्रममा हामीमाथि हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुङ्गामुढा गर्ने खालका कामहरू भयो । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ ।

अर्को कुरा, अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरू अर्काको नाममा ढुङ्गा हान्न त्यहाँ गएका छन् । हाम्राविरुद्ध अश्लील, असभ्य गालीगलौज गरिएको छ । त्यो म आफैँले देखेर, भोगेर आएको छु । त्यो खालको उदण्डता र सरकार मूकदर्शक भएको छ ।’उहाँले भन्नुभयो