जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार ०९:०५

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वको ध्यान जान जरूरी छ : अध्यक्ष ओली


काठमाडौं, २२ बैशाख ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्‌गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वको ध्यान जरूरी रहेको बताउनुभएको छ। बुद्धजयन्तीको अवसरमा आज शुभकामना दिँदै ओलीले सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्‍याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउने घोषणा गरेको स्मरण गर्नुभएको हो ।

अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरूका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रूपन्देही र कपिलवस्तु जिल्लामा ३० किलोमिटरको दुरीभित्र ३ वटा सम्यक सम्बुद्धहरूको जन्म भएको तथ्य प्रमाणित भएको ओलीको भनाइ छ ।

नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको भन्दै उनले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताउनुभएको छ ।