जनता टाइम्स

२३ बैशाख २०८०, शनिबार १७:३७

कांग्रेस नेता बलायरले भाषणमै दिए पत्रकारलाई ठेगान लगाउने धम्की


धनगढी, बैशाख २३ । सत्तारुढ दल नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का संघीय सांसद बीरबहादुर बलायरले पत्रकारहरूलाई कार्यकर्ता लगाएर ठेगान लगाउने धम्की दिनुभएको छ ।

सामुदायिक वनमा पार्टीको क्षेत्रीय कार्यालय शिलान्यास गरेको समाचार प्रकाशन भएपछि बलायरले सार्वजनिक रुपमै यस्तो धम्की दिनुभएको हो । कैलालीको गोदावरीमा कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्रीसमेत रहनुभएका बलायरले पत्रकारहरूलाई कार्यकर्ता लगाएर ठेगान लगाउने धम्की दिनुभयो ।

‘आज चौकीडाँडा (अतिक्रमण गरिएको क्षेत्र) चौकी डाँडा देखाएर चौतर्फीरूपमा नेपाली कांग्रेसलाई घेराबन्दी भइरहेको छ। आज भए नभएका कुराहरू लेखेर कांग्रेसमाथि आक्रमण भइरहेको छ। हिजोका दिनमा रवि लामिछानेले पनि पत्रकारका बारेमा बोलेका थिए। पत्रकारहरू, तपाईँ मेरो पार्टीको कार्यकर्तालाई बोल्न बाध्य बनाउनुभयो भने मेरो कार्यकर्ताले कुन भाषा र शैलीमा तपाईँहरूसँग सम्बाद गर्नेछ याद गर्नु होला,’ बलायरको धम्की थियो ।

उहाँले पार्टीको भवन शिलान्यासको भवनको समाचारलाई पीत पत्रकारिताको संज्ञा दिनुभयो। ‘जे पायो बध गरेर, मानिसको बध गरेर, जनताको मतसँग नसकेर पत्रकारको नाममा पीत पत्रकारितालाई समाप्त गर्ने अभियान पनि हुनसक्छ। अर्का माथि जाइलाग्ने कुनै पार्टीको सदस्य बन्ने हो, कुनै अमुक पार्टीलाई बलियो बनाउने अभियानमा हिन्नुभयो भने पत्रकार होइन, हामीले पार्टीको कार्यकर्ता सम्झिने छौं। त्यहीअनुसार पार्टीको कार्यकर्ताको ब्यवहार गर्नेछौं। याद गर्नुहोला नोटिस गर्नुहोला,’ बलायरको भनाई थियो ।

सुकुम्बासीलाई बन क्षेत्र कब्जा गरेको भन्दै हटाएकै भोलिपल्ट बलायरले कैलाली क्षेत्र नम्बर ४ मा पर्ने गोदावरी नगरपालिका १ स्थित सुरक्षा महिला सामुदायिक बनमा पार्टीको क्षेत्रीय कार्यालय (बीपी स्मृति प्रतिष्ठान)को शिलान्यास गर्नुभएको थियो ।