जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार ०८:४१

डिभी लोटरी २०२४ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा


काठमाडौं, बैशाख २४ । अमेरिकन डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा शनिबार राति सार्वजनिक भएको छ । अमेरिकाले सन् २०२४ को इडिभी नतिजा शनिबार राति सार्वजनिक गरेको हो ।

नतिजा हेर्नको लागि https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने छ । कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बर मार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ । डिभी परेको वा नपरेको जानकारी इमेल अथवा अन्य माध्यमद्वारा प्राप्त हुँदैन ।

डिभी परे नपरेको कसरी थाहा पाउने ?

तपाईसँग कन्फर्मेशन नम्बर छ भने तपाईले आफूलाई डिभी परे नपरेको सहजै हेर्न सक्नुहुनेछ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला ।

यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

कन्फर्मेशन नम्बर हरायो भने के गर्ने ?

डिभी लोटरी परे नपरेको थाहा पाउने एउटामात्र तरिका आधिकारिक वेवसाइटमा गएर कन्फर्मेशन नम्बर हालेर स्टाटस चेक गर्ने हो । कन्फर्मेशन नम्बर, थर र जन्मबर्ष हालेर डिभी परे नपरेको चेक गर्न सकिन्छ । तर कन्फर्मेशन नम्बर हराइहाले पनि चिन्ता गर्नु नपर्ने भएको छ ।

डिभी लोटरीको कन्फर्मेशन नम्बर हराएको खण्डमा नाम, जन्ममिति र इमेल ठेगाना मार्फत कन्फर्मेशन नम्बर प्राप्त गर्नसकिने सुविधा अमेरिकी सरकारले दिएको छ । तर तपाईले डिभी भर्ने बेला जुन इमेल ठेगाना प्रयोग गर्नुभएको थियो त्यही इमेल ठेगाना उल्लेख गर्नुपर्छ ।

हराएको कन्मफर्मेशन नम्बर प्राप्त गर्नका लागि यहाँ क्लीक गरेर आफ्नो विवरणहरु पेश गर्नुहोला ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

चिठ्ठा पर्ने आवेदकहरू ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो ।