जनता टाइम्स

२४ बैशाख २०८०, आईतवार १९:०९

सचिव पाण्ड‍ेसहित आठै जनालाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति, खाणमाथिको छानविन अघि नबढाउन प्रहरीमाथि दवाव


काठमाडौं, बैशाख २४ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दा सञ्चालन गरेको अभियोगमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आज यस्तो अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसरबाट भुटानी शरणार्थी ठगी प्रकरणमा अनुसन्धान भइरहेको छ । सुरुमा यो प्रकरण ठगीको कसुरमा अनुसन्धान अघि बढेकोमा अहिले संगठित अपराधअन्तर्गतका दफाबाट अनुसन्धान थप विस्तार भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा मुछिएका नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी तथा गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, टंक गुरुङ र सागर थुलुङ राईलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको हो ।

पक्राउ पुर्जी जारी भए पनि पूर्वउपप्रधानमन्त्री रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरज राई फरार छन ।
प्रहरीले गत चैत १२ गते दुलाल, भण्डारी र गुरुङलाई पक्राउ गरेको थियो । यस्तै चैत १५ गते सागर राई र चैत २९ गते सन्देश शर्मालाई पक्राउ गरेको हो ।

उनीहरूकै बयानपछि वैशाख १९ गते तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बैशाख २० गते उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ परेका हुन । बैशाख २० गते नै पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप बुटवलबाट समातिएका थिए । संगठित अपराध कसुरमा ६० दिनभित्र अनुसन्धान टुंग्याएर अभियोजन अदालतमा पेस गरिसक्नुपर्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सांसद आरजु राणा देउवा, पूर्वगृहमन्त्री बालकृष्ण खाण र उहाँकी पत्नी मञ्जु खाणसमेत तानिए पनि प्रहरीमाथि पक्राउ पुर्जी जारी नगर्न सरकारबाटै दवाव परेको छ । पक्राउ परेका गिरोहका सदस्य र तात्कालिन गृहसचिव पाण्डेले नै किटानी गर्दासमेत सत्ताको आडमा जोगाउने षडयन्त्र भइरहेको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडियो सार्वजनिक भइसकेको छ ।

गिरोहका एक सदस्यले भनेका छन, ‘आरजु राणालाई साढे दुई करोड गृहमन्त्री बालकृष्ण खाणका लागि मञ्जु खाणलाई हनुमानथानको घरमा ६ करोड बुझाएकै हो। प्रमाण छ नि मसँग।’