जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार १३:३०

निक्षेपसँगै कर्जाको ब्याजदर घट्ने नीतिगत व्यवस्था गर्न महासंघको माग


काठमाडौं, २६ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजारलाई चलायमान बनाउन निक्षेपसँगै कर्जाको ब्याजदर पनि घट्नुपर्ने व्यवस्थासहित ऋणको पुनर्संरचना एवं पुनर्तालिकीकरण तथा पुर्नकर्जा सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग आग्रह गर्नुभयो ।

महासंघको तर्फबाट राष्ट्र बैंकलाई मौद्रिक नीति २०७९/८० को चौथो त्रैमासिक समीक्षाका लागि सुझाव प्रस्तुत गर्दै अध्यक्ष ढकालले निक्षेपको व्याजदर घटेसँगै तत्काल कर्जाको व्याजदर पनि घटाउन आवश्यक रहेको बताउनुभयो । आर्थिक गतिविधिहरु शिथिल हुँदा उद्यमी व्यवसायीहरुमा ऋणको साँवा ब्याज तिर्न सक्ने क्षमता कम हुँदै गएको र बैंकहरुको खराब कर्जा अनुपात पनि बढेकाले तत्काल पुनर्कर्जा, कर्जाको पुनर्संरचना एवं पुनर्तालिकीकरण गर्नुपर्नेमा महासंघले जोड दिएको छ ।

बैंकिङ प्रणालीमा करिब दुई खर्ब रुपैयाँ तरलता उपलब्ध हुँदाहुँदै पनि कर्जा प्रवाह हुन नसकिएको भन्दै अध्यक्ष ढकालले यसलाई सम्बोधन गर्न ब्याजदर कम गर्ने उपायस्वरुप तत्काल नीतिगत दर, बैंकदर सीआरआर घटाउनेलगायतका नीतिगत निर्णयमा पुग्न राष्ट्र बैंकसँग आग्रह गर्नुभयो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल कार्यान्वयनमा लैजान सकिने सुझावहरुलाई गम्भीरतापूर्वक लिएर पूरा गर्ने विश्वास दिलाउनुभयो ।