जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार १७:३५

इजलासमा इन्द्रजीतको बयान : राती ठाउँ सारेर अख्तियार प्रमुखको नाम लिनु भन्दै ‘टर्चर’ दिइयो


काठमाडौं, बैशाख २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राईले आफूलाई राती राती कार्यालय सारेर अख्तियार प्रमुखको नाम पोल्नु भन्दै ‘टर्चर’ दिइएको बताउनु भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीशसमक्ष इजलासमै राईले यस्तो तथ्य खोल्नुभएको हो । म्याद थपको क्रममा इजलास नम्बर २७ मा आइतवार अर्थात २४ गते न्यायाधीशले हिरासतमा कस्तो छ ? भनी प्रश्न गर्दा राईले भन्नुभयो, ‘दिउँसो त राम्रो छ । राम्रो गरी नै राखिएको छ । तर राति–राती आएर शरणार्थी प्रकरणमा अख्तियार प्रमुख प्रेमकुमार राईको नाम लिनू भनेर जबरजस्ती दबाब दिइन्छ । निरन्तर धम्की दिइरहेको छ ।’

राईलाई पक्राउ गरेको भोलिपल्ट राति उपत्यकाका एआईजी श्याम ज्ञवालीको निर्देशनमा उपत्यका प्रहरी कार्यालय लगेर यस्तो ‘टर्चर’ दिइएको हो । यो तथ्य उजागर भएसँगै शरणार्थी प्रकरणमा एआइजी ज्ञवाली दोषीभन्दा निर्दाेष फसाउने मिसनमा रहेको प्रष्ट भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका राईलाई राति काठमाडौं उपत्यका प्रहरी कार्यालय लगेर मानसिक यातना दिइएको पाइएको छ । अदालतका एक कर्मचारीका अनुसार अभियुक्त राईको बयानपछि न्यायाधीशले हिरासतमा ‘टर्चर’ भन्ने शब्द लेखिदिएका छन ।