बिराटनगर, बैशाख २७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताउनु भएको छ ।
आफ्नै पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परलगत्तै कोइरालाले यस्तो बताउनु भएको हो । उहाँले यसमा राजनीतिक दबाव दिन नहुने पनि बताउनु भयो ।
आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा। कोइरालाले नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताउनु भयो । ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन,’ कोइरालाले भन्नुभयो, ‘उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उहाँले प्रहरीले गरिरहेको अनुसन्धान बीचमै नरोकिने विश्वास व्यक्त गर्नुभयो ।
यो प्रकरणमा गृह मन्त्रालय र प्रहरी प्रशासनले गरिरहेको कामको सह्राना गर्दै कोइरालाले भन्नुभयो, ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुर्याउँछ, पुर्याउँछ ।’













प्रतिक्रिया दिनुहोस्