काठमाडौं, बैशाख २९ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले पनि मोबाइल फर्म्याट गरेको तथ्य खुलेको छ । अनुसन्धानको क्रममा खाणको मोवाइल फर्म्याट भएको पाइएको हो ।
प्रहरीले ‘डेटा रिकभर’का लागि प्रहरीले उक्त मोबाइल प्रयोगशालामा पठाएको छ । प्रहरीले बुधबार खाण पक्राउसँगै बरामद गरेको मोबाइलको डेटा अनुसन्धान थालेको थियो । तर, ‘डेटा मिसिङ’ भएको भेटिएपछि रिकभर गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार खाणको मोबाइलका ‘डेटा मिसिङ’ भएको देखिन्छ । यसको अर्थ मोबाइल ‘फर्म्याट’ गरिएको हो ।
वैशाख २० गते पक्राउ परेका गृह मन्त्रालयका तात्कालिन सचिव टेकनाराण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गराउनु भएको थियो । पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेको थियो । सोही डेटाका आधारमा नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता रहेको तथ्य भेटिएको थियो । कारोबारका सन्दर्भमा खाणले पठाएको एसएमएस पाण्डेको मोबाइलमा भेटिनु, तर सोही एसएमएस खाणको मोबाइलमा नभेटिएपछि प्रहरी मोबाइल डेटा रिकभर गर्ने निष्कर्षमा पुगेको हो । डेटा रिकभर भएलगत्तै अुसन्धानले नयाँ मोड लिने आशामा प्रहरी छ ।
प्रहरीले खाणले प्रयोग गर्ने ‘सिम’को सिडिआर (कल डिटेल रिपोर्ट) भने पक्राउअघि नै उतारिसकेको छ । सिडिआरमा नक्लकी भुटानी शरणार्थी प्रकरणमा जोडिएका गिरोहका सदस्यसँग खाणको पटक–पटक संवाद भएको भेटिएको थियो । विशेष गरी धन्दाका सम्बन्धमा खाणको सबैभन्दा धेरै संवाद पूर्वगृहसचिव पाण्डेसँग भएको देखिन्छ । त्यसपछि पक्राउ परेका सन्देश शर्मा, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउप्रधानमन्त्री तथा निलम्बित एमाले सचिव टोपबहादुर रायमाझीसँग खाणको धेरै संवाद भएको देखिन्छ ।
ठगी धन्दामा संलग्नमध्येका मुख्य योजनाकार मोरङका केशव दुलाल पक्राउ गरेको २२ दिनपछि मात्रै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणलाई संगठित ठगी मुद्दामा रूपान्तरण गरेको थियो । प्रहरीले केशवलाई १२ चैतमा काठमाडौंबाट पक्राउ गरेको थियो । संठगित अपराध अनुसन्धान गर्न प्रहरीलाई ६० दिनको मात्रै म्याद अवधि हुन्छ ।
त्यसो हुँदा प्रहरीले अबको दश दिनभित्र घटनाको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिसक्नुपर्नेछ । तर, प्रकरणमा एकपछि अर्को नयाँ ‘हाई प्रोफाइल’ जोडिने क्रम जारी छ । पक्राउ परेका खाणको बयानले अनुसन्धानलाई नयाँ दिशा दिने निश्चित छ । प्रहरीले खाणसँग बिहीबार बेलुकासम्म बयान लिन सकेको छैन । स्वास्थ्यको कारण देखाउँदै खाणले प्रहरीलाई बयान दिन इन्कार गरिरहनु भएको स्रोतले बतायो ।













प्रतिक्रिया दिनुहोस्