जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १४:३७

रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रश्न : मैले भ्रष्टाचारको फाइल खोल्दा तपाईले किन समर्थन फिर्ता लिनुभयो ?


काठमाडौं, बैशाख २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई भेटन आउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कठोर प्रश्न सोध्नु भएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले भ्रष्टाचारको फाइल खोल्दा किन समर्थन फिर्ता लिनुभयो ? भन्दै कठोर प्रश्न सोध्नुभएको हो ।

लामिछाने नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेका प्रकरण र अघि बढेका अनुसन्धानको विषयमा बधाई दिन बालुवाटार जानुभएको थियो । सो क्रममा लामिछानेले भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँको आग्रहसँगै प्रधानमन्त्रीले समर्थन फिर्ताको प्रश्न गर्नुभएको थियो ।

‘तपाईंहरूले भ्रष्टाचारका प्रश्न उठाउनुभयो, कुरा राख्नुभयो। मैले त फाइल नै खोलेँ, काम नै गर्न सुरू गरेँ,’ लामिछानेसँग दाहालले थप्नुभयो ।