जनता टाइम्स

११ भाद्र २०७६, बुधबार ०८:५९

वाइनको चुस्कीमा तीजको दर ! मुन्नी बदनाम हुई..


काठमाडौं, भदौं ११ । यतिबेला तीजको दर खाने फेसन चलिरहेको छ । बदलिएको परिवेससँगै पार्टी प्यालेसतिर तीजको दर चलिरहेको छ । यस्तैमा गत भदौं ८ गते शनिबारको एक पार्टी प्यालेसको तीनको दरले भने निकै मन छोयो । मध्यान्ह हुँदै थियो । राजधानीको एउटा पार्टी प्यालेसमा तीजको भाका घन्किन थाल्यो टोलनै थर्किने गरी । रातो पहिरनमा सजिएका दिदीबहिनीले एकछिनमै पार्टी प्यालेस हाउसफुल भयो । अनि सुरु भयो तीजको दर पार्टी ।

रातो साडी, छड्के तिलहरी र अनि सुनले सजिएका दिदीबहिनीले पार्टी प्यालेस रंगिन थियो । घरमा बोर हुन्छ भन्दै टोलका दिदीबहिनीले प्रतिव्यक्ति हजार रुपैयाँका दरले पैसा उठाएर दर कार्यक्रमको आयोजना गरेका थिए । केही समयको हल्का कोल्ड ड्रिंक्सपछि एक घन्टा जति दिदीबहिनीले तीजका नेपाली गीत मा नाचगान गरे । त्यसपछि बाँडियो दरको स्न्याक्स । मेन्युमा थियो, चिकेन फ्राइ, मटन फ्राइ, मस्म, प्राउन, पापड अनि केही थरी वाइन र बियर । प्रायः सबैका हातमा थियो ग्लास । ग्लासमा थियो वाइन । वाइनको चुस्कीसँगै दिदीबहिनी दर पार्टीमा निकै चम्किए ।

वाइन केही समय लिएपछि नसा बढन थाल्यो । अनि भन्न थाले, ‘ह्या यार, कति तीजकै मात्र गीत बजाएको । अब राम्रो बजाउनु पर्यो, अलि हट चाहियो ।’ दिदीबहिनीलाई गीतले मनारञ्जन गराईरहेको डिजे हल्का मुस्कान दिँदै टाउको कन्याउन थाल्यो । युट्यूबमा सर्च गरेर हट आइटम बजायो, ‘मुन्नी बदनाम हुइँ डार्लिङ तेरे लिए… हट गीतले पार्टी प्यालेस गुन्जिन थाल्यो । एकछिन अघिको तीजको दर पार्टी ‘अब मुन्नी बद्नाम हुइँ…तिर मोडियो । म्युजिक र त्यहाँको माहोल हेर्दा लाग्थ्यो रातमा रंगिएको एउटा क्लब थियो ।

यो त एउटा दरपार्टीको सामान्य चित्र हो । तीजको मुखमा राजधानीका पार्टी प्यालेसमा दर पार्टी प्रायः यस्तै हुने गर्छन्। मेन्युमा वाइन र बियर अनि हिन्दी र अंग्रेजी रिमिक्स त अनिवार्य जस्तै भएको छ । तीजको स्वरूप पनि फेरिदै गएको छ । घरको भान्सामा दर पाक्न छोडेको छ । होटल तथा पार्टी प्यालेसमा दर पाक्न थालेको छ । प्यालेसमा भोजभतेर आयोजना गर्ने, महंगो गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, माछामासु र मदिराजन्य परिकार खाने प्रवृत्ति बढेको छ ।

तीज गीतमा विवाहित दिदीबहिनीलाई दाइ(भाइ लिन आएकोरनआएको, दिदीबहिनीबीचका दुस्ख सुखका कुराबारे चर्चापरिचर्चा हुन्थ्यो। गीतको माध्यमबाट मनको वह पोख्थे। तर हिजोआज विदेशी गीतले तीज पिट्न थालेको छ। तीज गीतको सट्टा डिजे चल्न थालेका छन्। घरमा होइन होटलमा दर पाक्न थालेको छ। मौलिक पर्व तीजमा पश्चिमा शैलीका गीतले स्थान पाउनु चिन्ताको विषय भएको संस्कृतिविद् टन्डनको बुझाइ छ। उनले चाडबाड बाध्यताले नभइ रहरले मनाउनुपर्ने बताए। यसरी संस्कृतिभित्र विकृति विसंगति भित्रिदै जाने हो भने तीज मात्र नभएर तिहारको देउसी भैंलोका गीतहरु पनि ओझेलमा पर्दै जानेछन्।