काठमाडौं, बैशाख ३० । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रैसका अर्का नेता पनि मुछिएका छन । पूर्वगृहमन्त्री बालकृष्ण खाण्णलाई नपोल्न भन्दै प्रहरी हिरासतमा रहेका अभियुक्तहरूलाई भेटेर दवाव दिएका पूर्वसांसद आङटावा शेर्पा पक्राउ पर्ने भएपछि फरार भएका छन ।
शेर्पाको आश्वासनपछि केही रकम फिर्ता भएको सूचना पाएलगत्तै प्रहरीले खोजी गर्दा उनी फरार भएका हुन । शेर्पाले हिरासतमा रहेका पूर्वगृहमन्त्री खाण र बिचौलियाहरूबीच मध्यस्थकर्ताको भूमिका खेलेको पाइएको छ । बुधबार खाण पक्राउ परेलगत्तै मैजुबहालस्थित घरमा ताला लगाएर शेर्पा फरार भएको प्रहरीले जनाएको छ ।
शेर्पाको घरमा केही प्रमाण भेटिन सक्ने भएकाले बिहीबार प्रहरीले ताला फुटाएर खानतलासी गरेको थियो । घरमा कोही पनि नभेटिएको र त्यससम्बन्धी विवरण पनि केही बरामद हुन नसकेको स्रोतले बतायो । यद्यपि, अमेरिका पठाइदिने भनेर बिचौलियाहरूसँग पैसा लेनदेनमा शेर्पाको पनि भूमिका रहेको सूचना प्रहरीले पाएको छ ।
चैतको दोस्रो साता ठगीमा संलग्न केही बिचौलिया पक्राउ परेलगत्तै खाणको प्रतिनिधि बनेर शेर्पा चैत १८ गते अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । पैसा फिर्ता गराइदिने आश्वासन दिँदै उनले बयानमा खाणको नाम नपोल्न प्रस्ताव गरेका थिए । एक–दुई दिनमै केही रकम फिर्तासमेत गरिएको सूचना प्रहरीले पाएको छ । यो विषय बलियो प्रमाण हुने भएकाले प्रहरीले शेर्पाको खोजी गरिरहेको छ । उनको नाममा अदालतबाट पक्राउ पुर्जी भने जारी भइसकेको छैन ।
उच्चपदस्थमाथि प्रहरी छानबिन केन्द्रित भएलगत्तै शेर्पालाई योजनाबद्ध रूपमै भूमिगत बनाइएको छ । रामेछापका कांग्रेस नेता शेर्पा ०७० मा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य थिए । शेर्पा ठेकेदारसमेत हुन ।













प्रतिक्रिया दिनुहोस्