काठमाडौं, बैशाख ३१ । मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष सम्पर्क रहेको तथ्य खुलेका छन । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाँण र गिरोहबीच सम्पर्क स्थापित भएको थियो ।
अनुसन्धानमा सहभागी प्रहरी स्रोतका अनुसार केशव दुलाललाई मन्त्री खाँणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ । गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् ।
पक्राउ पर्नुअघि पाण्डेले जस्तै खाँणले पनि मोबाइल फर्म्याट (खाली) गराएका थिए । पाण्डेको मोबाइलका ‘डेटा रिकभर’ भइसकेका छन् भने खाँणको मोबाइल प्रयोगशालामा पठाइएको प्रहरी भनाइ छ । प्रहरी स्रोतले भन्यो, ‘अहिलेसम्मको सोधपुछ र प्रारम्भिक बयानमा खाणले गिरोहका सदस्यसँग भेटेको स्वीकार गर्नुभएको छ । त्यसलाई पुष्टि गर्ने विवरण सचिव र अरू आरोपित तथा प्राविधिक अनुसन्धानबाट पनि प्राप्त भएका छन ।’
पाण्डे गृह सचिव भएर आएबाटै बिचौलियासँगको साँठगाँठमा गृहले नक्कली शरणार्थीको फाइल अघि बढाएको थियो । योजनाअनुसार पाण्डेले २०७८ असोज १४ मा झापा प्रशासनलाई शरणार्थीको लगत संकलनसहितको काममा खटाएका थिए ।
तर झापाबाट प्रतिवेदन नआउँदै पाण्डेले ओली नेतृत्वको सरकारका पालामा बनेको बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदन नै स्थानीय प्रशासन शाखाबाट झिकाएर गायब पारेका थिए । प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्