काठमाडौं, बैशाख ३१ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकाहरूलाई कारबाही गर्न माग गर्दै भएको प्रदर्शनप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कडा आक्रोश पोख्नुभएको छ । शनिवार कार्वाहीको मागसहित देशभरि प्रदर्शन भएको थियो ।
काठमाडौंको माइतीघर र नक्साललगायत जिल्ला–जिल्लामा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शन भएको हो । कार्यक्रममा सहभागीहरुले अब भ्रष्टाचार सहनौं भ्रष्ट नेता चाहन्नौं, दाइभाउजु मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर, करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्नेलगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सोही आन्दोलनमा सहभागी नेताहरुलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका मेयर शाहले आक्रोश पोख्नुभएको छ । मेयर शाहले भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई नभई सिधैं कार्बाही गर्न र निती बनाउनलाई भएको उल्लेख गर्नुभएको छ । उहाँले भ्रष्टाचारविरुद्धको आन्दोलनको नाममा सडक नाटक नदेखाउन पनि सुझाव दिनुभएको छ ।
‘भ्रष्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ?’ सामाजिक सञ्जालमार्फत शाहले प्रश्न गर्दै भन्नुभएको छ, ‘सिधैं लगेर बागमतीमा चोपाल्नुस । यस्तो सडक नाटक धेरै देखिसक्यौं हामीले । पत्याउदिनँ म चाँहि । तपाईंहरुलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधैँ कारबाही गर्नलाई हो, सिधैं कारबाही गर्ने नीति बनाउनलाई हो।’
शनिबारको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हिसीला यमी, सांसद सुमना श्रेष्ठलगायतका राजनीतिक दल नेताहरु सहभागी हुनुभएको थियो ।
यस्तो छ बालेनको कटाक्ष
भ्रस्टाचार बिरुद्धको आन्दोलन ? ?
को नेता हो थाह छ ?
घर कहाँ हो थाह छ ?
सिधै लगेर बागमतीमा चोपाल्नुस ।
यस्तो सडक नाटक धेरै देखी सक्यो हाम्ले ।
पत्याउदिन म चही ।
तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।













प्रतिक्रिया दिनुहोस्