जनता टाइम्स

३१ बैशाख २०८०, आईतवार १५:०४

बालुवाटार बैठकमा जुट्यो तीन सहमति


काठमाडौं, बैशाख ३१ । प्रमुख तीन दलबीच संसदीय सुनुवाइ समितिको नेतृत्व टुंग्याउने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले प्रधानन्यायाधीश सिफारिस भएको एक साता बितिसक्दा पनि संसदीय सुनुवाई समिति गठन नभएको बिषयलाई सम्बोधन गर्दै तत्कालै समिति गठन र नेतृत्वको टुंगो लगाउने सहमति भएको हो ।

संसदीय सुनुवाई समितिमा एमालेले नाम दिइसके पनि सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नाम नदिएपछि गठन हुन सकेको छैन । सोही बिषयमा आज तीन दलका संसदीइ दलका नेता र प्रमुख सचेतकसहितको बैठकले समितिको टुंगो लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल जारी संसद् माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेका अनुसार बैठक अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रह्यो ।

‘छलफल सकारात्मक छलफल भएको छ । संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ पाण्डेले भन्नुभयो । उहाँले संसद्का विषयगत समितिहरू गठन गर्नको विषयलाई टुंग्याउने समझदारी भएको जानकारी पनि दिनुभयो ।

‘सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन । संसदीय सहमतिको नेतृत्व टुंग्याउने विषयमा एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ’ उहाँले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे र कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।