जनता टाइम्स

१ जेष्ठ २०८०, सोमबार २१:०६

प्रेस चौतारी-युनियन र सेन्टरको पहलसँगै लोककल्याणकारी बिज्ञापनको रकम कटौतीको निर्णयबाट पछि हट्यो सरकार, अर्थमन्त्रीले गरे यस्तो अठोट


काठमाडौं, जेठ १ । अर्थमन्त्री डा. प्रकाशशरण महतले लोककल्याणकारी बिज्ञापनको रकम भुक्तानी नरोक्ने प्रतिवद्धता जनाउनु भएको छ । सरकारले बजेट नदिँदा विज्ञापन बोर्डले लोककल्याणकारी बिज्ञापनको भुक्तानी दिन नसक्ने बताएपछि आज तीन पत्रकार संगठनको संयुक्त प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री महतले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

तीन संगठनले लोककल्याणकारी बिज्ञापनको भुक्तानी नभए सडक आन्दोलनमा जाने अवस्था रहेको तथ्य बुझाएपछि छापा माध्यमलाई सरकारले उपलब्ध गराइरहेको लोककल्याणकारी विज्ञापनको बजेट कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।

आज पत्रकार सम्बद्ध मुख्य संगठनका अध्यक्ष सहितको प्रतिनिधी मण्डलले अर्थमन्त्री महतलाई भेटेर संकटको समयमा मिडियाले पाइरहेको रकम कटौती गर्न नहुने जानकारी गराएका थिए । डेलिगेसनमा सहभागी प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतका अनुसार बजेटको अभाव देखाउदै सञ्चार मन्त्रालयले कटौतीको सुचना दिएका लोक कल्याणकारी विज्ञापनको रकम यथावत कायम गरिदिन गरेको आग्रहमा मन्त्री महत सकारात्मक हुनुभएको छ ।

‘सञ्चार क्षेत्रको समस्या समाधान हुन्छ, मलाई जानकारी थिएन, लोककल्याणकारी बिज्ञापनको अपुग रकम चाँडै आवश्यक ब्यवस्था गर्छु,’ अर्थमन्त्री महतको भनाई उधृत गर्दै बस्नेतले भन्नुभयो ।

‘पत्रकारका संगठनका अध्यक्षहरुले सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गरे आफूहरु हामीहरु देशैभरीबाट आन्दोलनमा उत्रन्छौं भनेपछि मन्त्रीले चालु आर्थिक वर्षको सबै रकम निकासा गरिदिनु प्रतिवद्धता जनाउनु भएको छ ’ बस्नेतले भन्नुभयो । सरकारले आर्थिक संकटको कारण देखाउदै जेठ १५ देखि असार मसान्तसम्म डेढ महिनाको २ करोड ४६ लाख रुपैंया भुक्तानी गर्न नसकिने भएकोले विज्ञापन रोक्न विज्ञापन बोर्डलाई निर्देशन दिएको थियो ।

सरकारको यो निर्देशनपछि बोर्डले पत्रकार महासंघ लगायत प्रेस चौतारी नेपाल, प्रेस यूनियन,प्रेस सेन्टरका अध्यक्षहरुलाई सरकारले पठाएको निर्देशनका बारेमा जानकारी गराएको थियो । बोर्डले जानकारी गराएपछि तीन संगठनका नेताहरु एकसाथ मन्त्रालय पुगेका हुन । आजको डेलिगेसनमा चौतारी अध्यक्ष बस्नेत, प्रेस यूनियनका अध्यक्ष शिव लम्साल,प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल लगायत हुनुहुन्थ्यो ।

प्रेस युनियनका अध्यक्ष लम्सालले मन्त्री महतले सञ्चार संस्थाहरुको क्षमता अभिबृद्धिसहित अनलाइन सञ्चार माध्यमलाई पनि बजेटको ब्यवस्था गर्ने र लोककल्याणकारी बिज्ञापनको भुक्तानी तत्काल पठाउने प्रतिवद्धता जनाउनु भएको बताउनु भयो । यस्तै प्रेस सेन्टरका महासचिव पौडेलले मन्त्रीको प्रतिवद्धतासँगै अव लोककल्याणकारी बिज्ञापनको भुक्तानी नरोकिने बताउनु भयो ।