काठमाडौं, जेठ २। सभामुख देवराज घिमिरेले संसदमा उठेको आवाजलाई सरकारले गम्भीरतापुर्वक नलिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।
सरकारले सदनको आजावलाई बेवास्ता गरेको भन्दै सांसदको आक्रोस बढन थालेको जनाएर सभामुखले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो । सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेटबार्ता गर्नुभएको हो । सो भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका पेस संयोजक शेखर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजबाट समितिहरुको बैठक सुरु भएपछि संसद्ले लय समातेको छ । ‘संसदमा विचाराधिन विधेयकहरु टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको छु । सभामुखका तर्फबाट संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको जुन प्रयास गर्नुभएको छ, त्यो सराहनीय छ । सरकारकाले जेठ ५ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराउँदछु,’ प्रधानमन्त्रीले भन्नुभयो ।
जवाफमा सभामुखले भन्नुभयो, ‘सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिन चाहन्छु । आजबाट समितिको बैठकहरु उत्साहपूर्ण रुपमा सुरु भएका छन् । संसद सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको छ । सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।














प्रतिक्रिया दिनुहोस्