काठमाडौं, जेठ २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संसद र सदन अरुले नै चलाउने अनुभूति आफूले गरेको बताउनु भएको छ ।
मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताउनु भयो । मन्त्री किरातीले मन्त्री अरुले नै चलाउने भन्दै आफूलाई ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो पनि गर्नुभयो ।
उहाँले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । त्यसमा सहयोग गर्न संघीय संसद र सांसदहरुलाई उहाँले आग्रह गर्नुभयो । संसदमा बल दिएमात्रै आफूहरुले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ छ ।
मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रिपरिषद्बाट पास गराएर संसदमा पेश गर्ने उहाँको प्रतिवद्धता छ । यसलाई छिटो पास गरिदिन पनि सांसदको ध्यानाकर्षण गराउनु भयो ।
मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरु आवश्यक नभएको पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्