जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार १३:२८

न्याय माग्दै माइतीघरमा अनशनरत बिनुको स्वास्थ्य अवस्था खस्कदो, गम्भीर देखिएन सरकार


काठमाडौं, जेठ ३ । जबर्जस्ती सम्बन्धविच्छेद गराएको फैसलाविरुद्ध न्यायको माग गर्दै संघर्षरत बिनु यादवले माइतीघर मण्डलामा आमरण अनशन थालेको सातौं दिन पूरा भइसकेको छ ।

बिनु चोकनेरैको सडकछेउमा अनशनरत हुनुहुन्छ । अधिकारकर्मी, अभियन्ताहरू आएर यादवलाई उहाँलाई साथ दिन्छन । अनि भनिरहेका छन, ‘पीडितले न्याय पाउनैपर्छ, यी सत्याग्रहीका मागप्रति पूर्ण समर्थन जनाउँछौं ।’ बिनुलाई कसैले गितार बजाउँदै गीत गाएर साथ दिन्छन्न त कोही सामाजिक सञ्जालमा साथ दिइरहेका छन । दिउसो आउनेहरु भए पनि रात सुनसान हुन्छ । लामखुट्टेले टोकेर हैरान पार्छ । धूलो, धूवाँ अनि टन्टलापुर घाम र हावाहुरीसहितको वर्षात खेपेरै भए पनि बिनु न्यायका लागि अनशनमा रहनुभएको छ ।

रामेछापका प्रदीप कठायतविरुद्ध बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र गरेर बेवारिसे बनाएपछि इच्छाविपरीत ०७९ वैशाख ७ मा जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले सम्बन्धविच्छेद गराएको भन्दै बिनुले असार १६ मा उच्च अदालत पाटनमा पुनरावेदन गर्नुभएको थियो । उच्च अदालतले पेसी सारेको सारेकै छ ।

विवाह गरी रामेछाप लगेपछि बलात्कार प्रयास गर्ने काका ससुरा पवन कठायतविरुद्ध गत साउन १५ मा उजुरी पनि दिनुभएको थियो । तर पवन कठायत छुटिसकेका छन । बिनुले न्यायको मागसहित राष्ट्रिय मानवअधिकार आयोगमा समेत मौखिक र लिखित जानकारी दिनुभयो । त्यस्तै प्रदीपका मामा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले भान्जाविरुद्ध बलात्कारको जाहेरी फिर्ता लिन दबाब दिएको बिनुको आरोप छ ।

आफूमाथि अन्याय गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, न्यायाधीशविरुद्ध अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गर्दै आएकी बिनुले वैशाख २७ देखि सर्वोच्च अदालतको गेटबाट अनशन थाल्नुभएको थियो । तर प्रहरीले पक्राउ गरेर अनशन बस्न दिएन । सोही दिनको राति ९ बजे छुटेपछि वसन्तपुरमा बसेर अनशन निरन्तरता दिनुभयो । दोस्रो दिन माइतीघरमा आएर अनशन बस्नुभयो । काठमाडौं महानगरको नगर प्रहरीले बस्न नदिएपछि त्यस रात वसन्तपुर बस्नुपर्यो । त्यसपछि माइतीघरमै अनशनरत हुनुहुनछ ।

अनशन बसिरहेकै बेला बिनु महिनावारी हुनुभएको छ । महिनावारीका बेला बिनुको धेरै रगत बग्छ, प्याड फेरिरहनुपर्छ । तर बिनुसँग प्याड किन्ने खर्चसमेत छैन । बिनुले अनशन थालेदेखि पानीसमेत पिउनु भएको छैन । जस्को कारस्वास्थ्य स्थिति कमजोर बन्दै गएपछि अनशनको चौथो दिनदेखि डाक्टर अजित मल्लिकले स्लाइन पानी चढाउनु भएको छ ।

अनशनको पाँचौं दिन गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनशन स्थल आउनु भएको थियो । छैटौं दिन अनशनरत पक्ष र गृहमन्त्री, गृह मन्त्रालयका प्रवक्ता, कानुनविद्लगायतको टोलीले गृह मन्त्रालयमा वार्ता गरे  । तर बिनुले आश्वासनकै भरमा नतोड्ने अडान लिनुभएको छ ।