जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १३:२६

नक्कली भुटानी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ


काठमाडौं, जेठ ४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज सिंहदरबारबाट मियाँलाई पक्राउ गरेको हो ।

पैसा ओसार्न मियाँले कमिटीको गाडी प्रयोग गर्ने गरेको प्रहरी हिरासतमा रहेका आरोपीले खुलासा गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उहाँलाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले गृह मन्त्रालयको बा १ झ १५८१ नम्बरको सरकारी गाडी बरामद उक्त गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेपछि मियाँको खोजी गरिरहेको थियो ।

मियाँले गृह मन्त्रालय अन्तरगत नेपाल हज कमिटीको सचिवालयमा सहसचिव सरहको सेवा सुविधा लिइरहनु भएको छ । नेपाल हज समिति कार्यविधि २०७२ अनुसार नेपाली मुस्लिमको प्रमुख धार्मिक कार्य हज र उमरा सम्बन्धी धार्मिक यात्रालाई व्यवस्थित तथा प्रभावकारी रूपले सञ्चालन गर्नका लागि सरकारले नेपाल हज समिति गठन गरेको छ ।

मन्त्रालयले तोकेको इस्लाम धर्म तथा हज यात्राको बारेमा विज्ञ व्यक्तिका रूपमा मियाँ हज समितिको अध्यक्ष रहनुभएको छ । कार्यविधि अनुसार २ वर्षे कार्यकालमध्ये उहाँको अब एक वर्षे कार्यकाल बाँकी रहेको थियो ।