जनता टाइम्स

४ जेष्ठ २०८०, बिहीबार १४:४६

‘प्रधानमन्त्रीज्यू ! अभियुक्तहरु सिंहदरवारमै बसेर कस्को संरक्षणमा काम गरिरहेका थिए ?’


काठमाडौं, जेठ ४ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त रहेका हज कमिटीका अध्यक्ष शमशेर मियाँ कस्को संरक्षणमा सिंहदरवारभित्रै काम गरिरहेका थिए भन्द्र प्रधानमन्त्रीसँग प्रश्न सोध्नुभएको छ ।

सिंहदरवारस्थित गृह मन्त्रालयबाटै मियाँ पक्राउ परेलगत्तै भट्टराईले यस्तो प्रश्न सोध्नुभएको हो । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मियाँ नेकपा बिभाजनअघि एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी निकट हुनुहुन्थ्यो ।

रायमाझीलाई छाडेर माओवादीमै रहेपछि कार्यकाल सकिए पनि मियाँलाई दोस्रो कार्यकालका लागि हज कमिटीको अध्यक्ष बनाइएको थियो । मियाँ आज पक्राउ परेका हुन ।

‘नक्कली शरणार्थी सम्बन्धि केसमा नेपाल प्रहरीले वारेन्ट जारी गरेका तर फरार रहेका हज कमिटीका संयोजक सिंहदरबार परिसरमा रहेको उर्जा मन्त्रालयबाट गिरफ्तार । अनलाइनहरुमा आएको ताजा खबर । ठिक त्यहीबेला प्रतिनिधिसभाको प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री भन्दै हुनुहुन्छ कुनै पनि अपराधीलाई छोडिन्न र सरकारले कसैलाई संरक्षण गर्दैन,’ भट्टराईको प्रश्न छ, ‘अनि प्रश्न उठछ । अभियुक्त नेपालको सबैभन्दा सुरक्षित ठाँउ, नेपाल सरकारको मन्त्रालयमै बसेर आफ्नो कामकाज कस्को संरक्षणमा गरिरहेका थिए ?’