सिरहा ४ जेठ । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले यहि वर्षभित्र नगरक्षेत्रकाका सवै सुकुम्वासीको हातमा लालपूर्जा पर्नेगरी काम गर्न जनप्रतिनिधिहरुलाई अनुरोध गरेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका १ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले जनप्रतिनिधिको अझै चार वर्ष काम गर्ने समय रहेको भए पनि राष्ट्रिय भूमि आयोग सीमित समयको लागि गठन भएकोले चाँडो काम सक्नुपर्ने बताउनुभयो ।
पूर्वमन्त्रीसमेत रहेका सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सदस्य चौधरीले भन्नुभयो, ‘नेपाली नागरिक भएर पनि पुस्तौंदेखि एकटुक्रा जमिन नाममा नभएकाहरुलाई राज्यले जमिनको मालिक बनाउने महान अभियान चलाएको छ । अभियानलाई सफल बनाउने जिम्मा स्थानीय जनप्रतिनिधिकै हो । यसलाई इमान्दारिताका साथ पूरा गर्न सक्रियता पूर्वक लाग्नुहोस् ।’ चौधरीले आफ्नै देशको नागरिकलाई विदेशी बनाउनु देशद्रोही काम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘आफ्नो नागरिकलाई विदेशी बनाएर बेच्नु देशद्रोही कार्य हो । यस्तो देशद्रोही कार्यगर्ने जो कोहीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’ नगर प्रमुख गिता चौधरीले एक वर्षभित्र पालिकाभित्र भूमिहीनताको अन्त्य गर्नेगरी काम गरिरहेको बताउनुभयो । ‘हाम्रो तर्फबाट चाँडोभन्दा चाडो काम सम्पन्न गर्नेगरी काम गरिरहेका छौं,’ नगर प्रमुख चौधरीले भन्नुभयो, ‘नगरपालिकाले आउँदो वैशाखभित्र सबै भूमिहीनहरुको हातमा लालपुर्जा पर्नेगरी काम गरिरहेका छौं । सरोकारवाला सवैनिकायको साथ र सहयोग गरे काम समयमै सम्पन्न हुन्छ ।’
प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले चुनाव र सरकार परिवर्तनका कारण केही समय ढिला भएको भए पनि आफ्नो तर्फबाट काम भईरहेको जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शर्माले पालिकाले १४ जना जनशक्ति परिचालन गरी दुई महिनमामा दुई हजार ३९४ घरधुरीको तथ्याङ्क संकलन गरेको जानकारी दिनुभयो । जसमध्येय भूमिहीन दलित ४४७, भूमिहीन सुकुम्वासी ११४ र अव्यवस्थित वसोवासी एक हजार ८५३ जनाको तथ्याङ्क लिइएको जानकारी दिनुभयो ।
उहाँले तथ्याङ्क सङ्कलनको कार्य सम्पन्न भईसकेकाले अब आयोगसँगको समन्वयमा काम अगाडि बढ्ने बताउनुभयो । लालपूर्जा वितरण कार्यक्रममा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष हरेराम यादव, जिल्ला समन्वय समितिका अध्यक्ष शिवनारायण साह, पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता, भूमि विज्ञ पञ्चदेव चौधरी, हरुवा चरुवा अधिकार मञ्च सप्तरीका अध्यक्ष देवलाल राम लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्