काठमाडौं, जेठ ४ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याउने अगामी बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्न आवश्यक रहेको बताउनुभएको छ ।
विहीवार काठमाडौंमा भएको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन सार्वजनिकीकरण एवं छलफल कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले सरकारल अर्थतन्त्रको सुधारको लागि ब्याजदर स्थायित्व, कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण तथा उद्यमी व्यवसायीलाई पुनःकर्जाको सुविधा दिनुपर्ने बताउनु भयो।
उहाँले व्यवसायीहरुका मागलाई राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामा आंशिक रुपमा समेटेको तर यत्तिले मात्रै बजार चलायमान बनाउन नसक्ने भन्दै आगामी मौद्रिक नीति थप लचिलो बन्न आवश्यक रहेको बताउनु भयो। उहाँले सरकारले रेमिट्यान्स औपचारिक माध्यमबाट बढिभन्दा बढी रेमिट्यान्स भित्र्याउने योजना बनाउनुपर्ने बताउनु भयो। अध्यक्ष ढकालले सानो आय भएका व्यक्तिहरुले प्रयोग गर्ने रोकिएको रेमिट्यान्स सेवा सुचारु गर्न सरकारसँग माग गर्नुभयो।
उहाँले वाह्य क्षेत्र सन्तोषजनक रहेकाले तत्काल मन्दीबाट बाहिर आउन सकिने अवस्था रहेको भन्दै मौद्रिक र वित्तीय नीतिले बजारमा माग सिर्जना गर्न सकिने उपकरण ल्याउनुपर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले आगामी आर्थिक वर्षदेखि अर्थतन्त्रमा क्रमशः सुधार हुने सम्भावना देखिएको भन्दै सरकारले आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन नगरि सम्भव नभएको बताउनु भयो।
उहाँले तुलनात्मक लाभ भएका लगानीका क्षेत्र र नयाँ ठाउँमा पनि निजी क्षेत्रलाई अवसर सरकारले दिनुपर्ने बताउनु भयो। उहाँले नेपालको फलाम लगायत खनिजजन्य पदार्थको उत्पादन एवं निर्यातमा विशेष कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले विभिन्न खोलाहरुमा थुप्रिएका गिटी ढुंगा बालुवाबाट मात्रै वार्षिक करिव दुई अर्ब डलर आर्जन गर्न सकिने सम्भावना रहेको बताउनु भयो। उहाँले वातावरणीय प्रभाव न्युनिकरण गरि यस्ता खानीहरु पनि पहिचान गरी तुलनात्मक लाभका वस्तुहरुलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनु भयो।
उहाँले भन्नुभयो,‘ बजेटले विद्यमान आर्थिक अवस्थामा सुधार ल्याउन विशेष पहल गर्नु आवश्यक छ । त्यसका लागि ब्याजदर स्थायित्व, कर्जाको पुनःसंरचना र पुनःतालिकीकरण आवश्यक छ । यससंगै उद्यमी व्यवसायीलाई पुनःकर्जा सुविधा आवश्यक छ । हाम्रा यी मागलाई राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामा आंशिक रुपमा समेटेको छ । तर यत्तिले मात्रै बजार चलायमान बनाउन सक्दैन । त्यसैले थप लचिलो बन्नु आवश्यक छ । यसैगरि रेमिट्यान्स विशेष प्रवद्र्धन कार्यक्रममार्फत औपचारिक माध्यमबाट बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउने योजना आवश्यक छ । देशभित्र विशेष गरी सानो आय भएका व्यक्तिहरुले प्रयोग गर्ने रेमिट्यान्स सेवा जुन रोकिएको छ, त्यसलाई सुचारु गर्नुपर्छ । वाह्य क्षेत्र सन्तोषजनक रहेकाले तत्काल मन्दीबाट बाहिर आउन सकिन्छ । मौद्रिक र वित्तीय नीतिले बजारमा माग सिर्जना गर्न सकिने उपकरण ल्याउनुपर्छ । आगामी आर्थिक वर्षदेखि अर्थतन्त्रमा क्रमशः सुधार हुने सम्भावना मैले देखेको छु । आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन नगरी सम्भव छैन । त्यसमा हाम्रो विशेष ध्यान आवश्यक छ । तुलनात्मक लाभ भएका लगानीका क्षेत्र र नया ठाउँमा पनि निजी क्षेत्रलाई अवसर दिइनुपर्छ । जस्तो कि नेपालको फलाम लगायत खनिजजन्य पदार्थको उत्पादन एवं निर्यातमा विशेष कार्यक्रम आवश्यक छ । विभिन्न खोलाहरुमा गिटी ढुंगा बालुवा थुप्रिएका छन् । एक अध्ययनले यसको उपयोगबाट वार्षिक करिव दुई अर्ब डलर आर्जन गर्न सकिने सम्भावना देखाएको छ । वातावरणीय प्रभाव न्युनिकरण गरी यस्ता खानीहरु पनि पहिचान गरी यी तुलनात्मक लाभका वस्तुहरुलाई हामीले प्रवद्र्धन गर्नुपर्छ । काठ र काठजन्य उत्पादन अर्को तुलनात्मक लाभ भएका क्षेत्र हुन् ।’
अध्यक्ष ढकालल उद्योग, व्यापार र निर्माण क्षेत्र त ऋणात्मक रहेको भन्दै निजी क्षेत्रले विगत एक वर्षदेखि अपेक्षाकृत काम गर्न नसकेको बताउनु भयो। उहाँले उद्योग, व्यापार र निर्माण क्षेत्र त ऋणात्मक हुँदा ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित भएको उल्लेख गर्नुभयो। उहाँले राजश्व करिब १६ प्रतिशतले घट्दा सरकारलाई चालु खर्च धान्न पनि कठिन भइरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले रोजगार दिन नसक्दा पछिल्लोे ९ महिनामै ६ लाख युवा कामका लागि विदेशिएको बताउनु भयो।
उहाँले भन्नुभयो,‘ निजी क्षेत्रले विगत एक वर्षदेखि अपेक्षाकृत काम गर्न सकेको छैन । उद्योग, व्यापार र निर्माण क्षेत्र त ऋणात्मक नै छ । जसका कारण ८ प्रतिशत अपेक्षा गरिएको आर्थिक वृद्धिदर २ प्रतिशतमा सिमित भएको छ । राजश्व करिव १६ प्रतिशतले घट्दा सरकारलाई चालु खर्च धान्न पनि कठिन भइरहेको छ । अध्ययनले ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको देखाएको छ । निजी क्षेत्रले रोजगार दिन नसक्दा अहिले ९ महिनामै ६ लाख युवा कामका लागि विदेशिएका छन् । त्यसैले मैल माथि भने झै दिगो आर्थिक विकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भुमिका आवश्यक छ । र त्यो सुधारको प्रस्थानबिन्दु यसपटकको बजेट हुनुपर्छ । न्युन मागका कारण निजी क्षेत्रका अधिकांश व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेका छन् । तीन त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहनु चिन्ताजनक अवस्था हो।’
उहाँले देशमा दिगो आर्थिक विकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भुमिका आवश्यक रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रको सुधारको प्रस्थानबिन्दु आगामी बजेट हुनुपर्ने बताउनु भयो। उहाँले न्युन मागका कारण निजी क्षेत्रका अधिकांश व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेका बताउनु भयो । उहाँले तीन त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहनु चिन्ताजनक अवस्था भएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्