काठमाडौं, ५ जेठ । सत्ता गठबन्धन दलहरुबीच मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले जसपा नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले यही सरकारलाई नै निरन्तरता दिने भन्ने बालुवाटारमा शीर्ष नेताहरुबीच सहमति भएको छ । तर, यो आलोपालो हुन्छ । जसपापछि कसले नेतृत्व गर्छ अहिले टुंगिएको छैन ।’ केन्द्रबाटै निर्णय हुने भएकाले अब सबै प्रदेशको प्याकेजमै भागबण्डा हुने उहाँको भनाइ छ । अहिले जसपासहित कांग्रेस, माओवादी केन्द्र, लोसपा, नेकपासहित दलहरुबीच सहमति बनेको छ ।
एमाले नेतृत्वको गठबन्धन रहेकै बेलामा मधेश प्रदेशको नेतृत्व जसपाले पाएको थियो । तर, चुनावअघिकै गठबन्धन ब्यूँतिएपछि कांग्रेसले नेतृत्वमा दाबी गरेपछि गठबन्धन दलहरुबीच आज सहमति भएको हो । आजको बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरु सहभागी हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्