जनता टाइम्स

६ जेष्ठ २०८०, शनिबार १३:४७

मेरो भारत भ्रमण ऐतिहासिक हुनेछ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै प्रधानमन्त्री उक्त कुरा बताउनुभएको हो । ‘यो परिवर्तनमार्फत नै जनतालाई सेवा दिन सकिन्छ, सुशासन दिन सकिन्छ र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक म प्रधानमन्त्रीको जिम्मेवारीमा छु ।

हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै हामी दलहरु बीच छलफलमा छौं’ उहाँले भन्नुभयो । उहाँका अनुसार शीर्ष नेताहरु बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्र बिरोधि प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको छ ।

प्रधानमन्त्रीले भारतसँग खुला सिमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै आगामि भ्रमण दुबै देशका लागि ऐतिहासिक बन्नेसमेत बताउनुभएको छ । प्रधानमन्त्रीले कार्यक्रममा सरकार खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर देशको प्रतिष्ठा र समाजमा अनुशासन कायम गर्न लागेकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो,‘अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ संकल्प सहित अगाडि बढेको छ । त्यसमा खेलकूलाई प्रोत्साहित गर्ने कुरा सरकारको उच्च प्राथमिकतामा रहेको म स्पष्ट गर्न चाहन्छु ।’