लमजुङ ६ जेठ । दोर्दी गाउँपालिका ४ नौथर शेरादेखि सिमी ताँजे जोड्ने सडकको स्तरोन्नति सुरु भएको छ । सडकको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कालोपत्रे शिलान्यास गर्नुभएको हो । अध्यक्ष अधिकारीले गुणस्तरीय सडक निर्माण गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह गर्नुभएको छ । सडक निर्माणले विषेश गरी सिमी ताँजेका स्थानीय बढी लाभान्वित हुने र गाउँ–गाउँमा उत्पादित तरकारी तथा नगदेबाली बजारसम्म पुराउन र गाउँलेलाई गाउँसम्म पुग्न सहज हुने उहाँले बताउनुभयो ।
नौथर शेरादेखि वडा नं. ६ सिमी र ताँजेसम्म ७ दशमलव ८५० किलोमिटर सडकको स्तरोन्नति कार्य सुरु भएको हो । संघीय सरकार र गाउँपालिकाको ५०५० प्रतिशत लगानीमा उक्त सडक निर्माण कार्य सुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जिनियर विश्वास पाण्डेले बताउनुभयो । उहाँका अनुसार ७ करोड २० लाख रुपैयाँको स्टेमेट रहेकोमा निर्माण व्यावसायी देवकोटा–गणपति जेभी नुवाकोटले भ्याट सहित ५ करोड ३९ लाख रुपैयाँमा निर्माण सक्न सम्झौता गरेको छ । स्तरोन्नति कार्य अन्तर्गत कटिङ, चौडाई गर्ने, मेशिनरी वाल लगाउने, नाली निर्माण गर्ने, ३ ठाउँमा कल्भर्ट राख्ने, ग्याविन जाली लगाउने लगायतका काम हुनेछ ।
सडक नालीसहित ८ मिटर चौडाईको हुनेछ । यो संगै ३ किलोमिटर सडक कालोपत्र र ३ सय मिटर सडक ढलान हुने गाउँपालिका प्राविधिक शाखाले जनाएको छ । निर्माण व्यावसायीले गाउँपालिकासँग वैशाख १० गते सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म निर्माण सक्ने गरी सम्झौता गरेर प्राविधिक प्रमुख पाण्डेले बताउनुभयो । सडक स्तरोन्नति सकिएपछि गाउँ–गाउँबाट नागरिकलाई गाउँपालिका कार्यालय आउन र सदरमुकाम बेंसीसहर आउजाउ गर्न पनि सहज हुने प्रमुख प्रशासकीय अधिकृत शम्सेर गुरुङले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्