जनता टाइम्स

८ जेष्ठ २०८०, सोमबार १२:४१

चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना


काठमाडौं, ८ जेठ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउनु नहुने बताउनुभएको छ । हिजो काठमाडौंमा भएको एका कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले कलाकारहरु राजनीतिक दलका संगठनहरुमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले चलचित्र क्षेत्र सबैको माया पाउने क्षेत्रका रुपमा विकास हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाली चलचित्रले आफ्नो बहुआयामिक पहिचानलाई बचाइरहन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि लैजानुपर्छ ।

नेपालको आफ्नो बहुआयामिक पहिचानलाई कायम राख्दै फरक पहिचानका साथ विश्वमा नै नेपाली चलचित्रलाई स्थापित गराउन कलाकार, उद्यमी, पत्रकारहको आवश्यक्ता छ । यसले जीविको पार्जन पनि हुन्छ सँगै यसले देशको ख्याति पनि अघि बढाउँछ । हामीले पहिचान दिन सक्नुपर्छ । राज्यको ध्यान पनि यस क्षेत्रमा जानुपर्छ । चलचित्र क्षेत्रमा त लाग्ने तर गास, बासको लागि नै समस्या छ भने किन लाग्ने ? यस कारण यस क्षेत्रबाट पनि देशलाई अघि बढाउन सकिन्छ भन्ने हिसावमा हामी सबै जानुपर्छ ।

अहिले हरेक क्षेत्रमा राजनीति घुसेको छ, यो चलचित्र क्षेत्रमा राजनीति नघुसाइ अघि बढाउनुपर्छ । त्यो भन्दा पृथक ढंगबाट चलचित्र क्षेत्रलाई लैजान सक्नुभयो भने राम्रो होला, तर कलाकार सबै पार्टीका भातृ संस्थामा बाँडिन जानुभयो भने माया मान्ने धेरै हुँदैनन् । नियुक्तिका लागि पार्टीमा लाग्नुभयो भने कसैको पनि मायाँ पाउनु हुन्न, सबैको मायाँ पाउने संस्था बन्नसक्नुपर्छ ।’ अध्यक्ष तिमिल्सिनाले चलचित्र र चलचित्र पत्रकारहरुलाई थप माथि उठाउन सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको पनि बताउनुभयो ।