जनता टाइम्स

९ जेष्ठ २०८०, मंगलवार ०८:२४

सचिव टेकनारायण पाण्डेको बयान : मन्त्रीको कार्यकक्षमै लगेर बालकृष्ण खाणलाई सवा करोड बुझाएको हुँ


काठमाडौं, जेठ ९ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै गरिएको ठगी धन्दाका क्रममा गृह मन्त्रालयभित्रै पैसा लेनदेन भएको तथ्य बाहिर आएको छ ।

प्रहरीसँगको बयानको क्रममा गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले यस्तो तथ्य खोल्नुभएको हो । उहाँले तात्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई मन्त्रीकै कार्यकक्षमा पुगेर आफूले एक करोड २४ लाख बुझाएको बयान दिनुभएको छ । मन्त्रालयमै आएर बिचौलियाले दिएको पैसा आफूले तत्कालै मन्त्री खाणलाई लगेर बुझाएको सचिव पाण्डेले लिखित बयान दिनुभएको हो ।

प्रहरीले अनुसन्धान सकाएर सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ, जसमा सचिव पाण्डेको बयानमा यस्तो तथ्य उल्लेख छ । ‘२६ जेठ ०७९ मा बिचौलिया केशव दुलालले मन्त्रालयमै आएर आफूलाई पैसा दिएको र त्यो सबै पैसा तत्कालै मन्त्री खाणको कार्यकक्षमा गएर बुझाएको’ पाण्डेले उल्लेख गर्नुभएको छ ।

गत बैशाख २० गते पक्राउ परेका पाण्डेले सुरुवाती बयानमा ठगी धन्दामा संलग्नताबारे इन्कार गर्नुभउको थियो । तर फम्र्याट गरेको मोबाइलको डेटा रिकभर भएपछि बिचौलिया दुलाल र पाण्डेबीचको ह्वाट्सएप च्याटबाट प्रहरीले धेरै सूचना पाएको हो । च्याटमा पाण्डे र दुलालबीच पटक–पटक आर्थिक लेनदेनका विषयमा कुराकानी भएको पाइएको छ ।

त्यसकै आधारमा प्रहरीले पाण्डेको ततिम्बा (पूरक) बयान गराएको थियो । जसक्रममा उहाँले पैसा लिएको स्वीकार गर्दै सबै पैसा मन्त्रीलाई बुझाएको बताउनु भएको छ । तत्कालीन गृहसचिव पाण्डेको सोही बयानका आधारमा मन्त्री खाणलाई पक्राउ गरिएको थियो । दुलालले पनि मन्त्रालयमै गएर रकम बुझाएको बयान दिए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको थिएन ।

सचिवले नै पुष्टि गरेपछि बैशाख २६ गते प्रहरीले खाणलाई पक्राउ गरेको थियो । रकम बुझेको भोलिपल्ट नै तत्कालीन गृहमन्त्री खाणले बिचौलियालाई फाइदा हुने गरी निर्णय गराएकोसमेत अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सचिव पाण्डेले प्रतिवेदन किर्तेबारे आफूलाई कुनै जानकारी नभएको भन्दै मन्त्रीका लागि पैसा मागेको र आफूले कुनै लाभ पनि नलिएको दावी गर्नुभएको छ ।

पाण्डे र दुलालबीचकै कुराकानीमा खाणका स्वकीय सचिव रहेका नरेन्द्र केसीलाई पनि पैसा दिने उल्लेख छ । ‘नरेन्द्र केसीले पनि आस गर्छ, त्यसलाई पाँच लाख फालिदिनुपर्ला’ भनेर पाण्डेले दुलाललाई भन्नुभएको छ । सोहीअनुसार पैसा दिइएको दुलालको बयान छ ।