जनता टाइम्स

९ जेष्ठ २०८०, मंगलवार १०:३६

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त आङटावाको बयान : कारोवार मिलाउन बालकृष्ण खाणले केही पैसा दिनुभएको थियो


काठमाडौं, जेठ ९ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त आङटावा शेर्पाले पूर्वगृहमन्त्री बालकृष्ण खाणले पुरानो कारोवार मिलाउन केही पैसा आफूलाई दिएको बयान दिनुभएको छ । प्रहरीसँगको बयानमा शेर्पाले यस्तो बताउनु भएको हो ।

गृहमन्त्रीज्यूसँग केही व्यक्तिको पुरानो कारोबार रहेछ, त्यो कारोबार मिलाउन उहाँले मलाई केही रकम दिनुभएको थियो, प्रहरीसँगको बयानमा कांग्रैस नेता एवं पूर्वसांसद शेर्पाले भन्नुभएको छ ।

यस्तो छ शेर्पाको बयान
नक्कली भुटानी शरणार्थी बनाउने काममा मेरो कुनै संलग्नता छैन । गृहमन्त्रीज्यू (बालकृष्ण खाण)सँग केही व्यक्तिको पुरानो कारोबार रहेछ । उक्त कारोबार मिलाउन उहाँले मलाई भन्नुभएको थियो ।

त्यसक्रममा उहाँले मलाई केही रकम पनि दिनुभएको थियो । उहाँकै निर्देशनअनुसार मैले कारोबार मिलाउने प्रत्यत्न मात्रै गरेको हुँ । व्यक्तिगत रूपमा मैले कसैसँग रकम लेनदेन गरेको छैन । मविरुद्ध कसैको जाहेरी पनि छैन ।