जनता टाइम्स

१२ जेष्ठ २०८०, शुक्रबार १२:५६

पशुपतिमा ओली सरकारले भ्रष्टाचार गरेको माओवादी सांसदको आरोपपछि एमालेद्वारा सदन अवरुद्ध


काठमाडौं, १२ जेठ । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल विरोधमा उत्रिएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरूले भ्रष्टाचार गरेको आरोप लगाएपछि नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएको छ । नेकपा माओवादी सांसद लेखनाथ दाहालले ओली नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरको गजुरमा सुन भनेर पित्तल लगाएको आरोप लगाउनुभएको थियो ।

त्यसको जवाफ सरकारले नदिएसम्म एमालेले सदन चल्न नदिने प्रमुख सचेतक पदम गिरीले बताउनुभयो । संसदमा एमाले सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेका हुन् । सुन भनेर ओलीले पित्तलको जलहारी लगाएको दाहालको आरोपलाई गम्भीर भन्दै एमालेका सांसदहरुले उभिएर संसद बैठकमा अवरोध गरेका हुन् । आजको बैठकको सुरुमै एमाले सांसदहरुले ड्यासबाट उठेर विरोध सुरु गरेका थिए ।

प्रमुख सचेतक गिरीले सत्ता पक्षले लगाएको गम्भीर आरोपको प्रष्ट नहुन्जेल संसद अघि बढ्न नदिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,‘सदन सुचारु हुनुपर्छ । हामी पनि त्यही चाहन्छौँ । यति गम्भीर किसिमको आरोप लगाइएको छ । पशुपतिनाथमा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लागेको छ । यसबारे छानबिन हुनुपर्छ । देशको मुख्य चुनौती भ्रष्टाचार हो । जुनसुकै पक्षको मनोबल गिराउनु छ । सदनभित्र भ्रष्टाचारका विषय मनलाग्दो गरी आएका छन् । बिनाआधार बिनाप्रमाण आरोप लगाइन्छ भने एमाले चुप बस्दैन ।’