काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगाइएको भ्रष्ट्रचारको आरोप पुष्टि गर्न चेतावनी दिनुभएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित स्थानीय तहका जनप्रनिधिसँगै बोल्दै उहाँले आफूविरुद्ध भ्रष्टाचारको आरोप लगाएको भन्दै पुष्टि गर्न चेतावनी दिनुभयो । जेठ १० गतेको संसद्मा नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिको जलहरी सुनको हुनुपर्नेमा पित्तल लगाएर भ्रष्टचार गरेको आरोप लगाउनुभएको थियो । ओलीले आफूले भ्रष्टाचार गरेको आरोप लगाइएको भन्दै आपत्ति जनाउनुभयो ।
‘अस्तिको दिनमात्रै माओवादीका एक सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो ? पशु्पतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गर्यो भनेर एकजना सांसदले बोले,’ उहाँले भन्नुभयो । ओलीले त्यसमा संसद् अवरुद्ध भएको बताउँदै अवरोध हुनैपर्ने सुनाउनुभएको हो । उहाँले थप्नुभयो,‘संसद् अवरुद्ध हुनैपर्छ । यस्तो बकबास । जड्याहाले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दै हिँड्दैन । आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा हो ।’
उहाँले भन्नुभयो,‘कि पुष्टि हुनुपर्छ । पुष्टी हुने सम्भावना नै नभएको कुरालाई संसदमा भन्ने ?’ उहाँले आफू भ्रष्टाचारविरुद्ध आन्दोलन चलाइरहेको भन्दै देशप्रतिको वितृष्णा जगाउन देशद्रोही काम भएको आरोप लगाउनुभयो । ‘जसले जिन्दगीभरी भ्रष्टाचार विरोधी आन्दोलन चलाएर आएको छु्, त्यही मान्छेकाविरुद्ध । यो त इमानका शत्रुहरूले गर्ने काम हो,’ उहाँले भन्नुभयो,‘देशद्रोही तत्वले यो देशमा चाहीँ कोही पनि इमान्दार छैन भन्ने स्थापित गरेर देशप्रतिकै वितृष्णा जगाउने देशद्रोही काम हो ।’













प्रतिक्रिया दिनुहोस्