जनता टाइम्स

१३ जेष्ठ २०८०, शनिबार ११:०७

जनचासोको समस्या समाधान गर्न सिद्धार्थ संजाल गठन


भैरहवा, १३ जेठ । रुपन्देहीको समस्या समाधानका लागि पहलकदमीको रुप लिन सिद्धार्थ संजाल रुपन्देही गठन भएको छ । सर्वसाधारण र जनचासोको विषयमा आवाज उठाउनका लागि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा संजाल गठन गरिएको हो । संजालले स्थानीय स्तरबाट उठेका जनचासोको सबै समस्याहरुको दबाब दिई समाधानका संयुक्त रुपमा पहल गर्नेछ । सञ्जालको प्रथम बैठक तथा छलफलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि दबाबमूलक कार्यक्रम गर्न विष्णु प्रसाद शर्माको संयोकजत्वमा उपसमिति गठन गरेको छ ।

त्यस्तै मधु प्रसाद पन्थीको संयोजकत्वमा विधान मस्यौदा लेखन उपसमिति, सतिश कुमार कौशल (दीपक) को संयोजकत्वमा कोष वृद्धि उपसमिति र संजय बजियमको संयोजकत्वमा बेलहिया–सुनौली स्थलमार्ग समस्या समाधान उपसमिति गठन गरेको सञ्जालकी महासचिव सम्झना शर्माले बताउनुभयो । बैठकले संस्था दर्ता गर्ने र खाता सञ्चालन गर्ने समेत निर्णय गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खानले समितिको प्रत्येक कदममा आफ्नो र सिद्धार्थनगर नगरपालिकाको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीको समस्या समाधानका लागि साथ र सहयोग रहने बताउनुभयो । सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले यस क्षेत्रमा धेरै संघ–संस्था रहेको र सबैले अलग–अलग रुपमा भन्दा सामूहिक रुपमा आवाज उठाउँदा प्रभावकारी हुने बताउनुभयो । उहाँले उद्योगी व्यवसायी चौतर्फी मारमा परेको बताउनुभयो । उहाँले भन्नुभयो,‘समग्र रुपन्देहीको विकासका लागि अगाडि बढ्छौं । कसैलाई काखा र पाखा गर्दैनौं । ’उहाँले एकढिक्का भएर अघि बढे सम्बन्धित निकायसँग माग पूरा गराउन पनि सहज हुने र यस क्षेत्रको विकासले गति लिने धारणा राख्नुभयो । उहाँले संजालको प्रमुख र पहिलो मुद्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालनका लागि दबाब दिने रहेको बताउनुभयो ।

सिद्धार्थ सञ्जाल रुपन्देहीका उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थललाई चलायमान बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’ ‘सबैको साथ, समृद्धि र विकास’ भन्ने मूल नाराकासाथ सिद्धार्थ सञ्जाल, रुपन्देही गठन गरिएको सचिव सचिन रोक्काले बताउनुभयो । भैरहवामा बिहीबार बसेको बैठकले अनिल कुमार ज्ञवालीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, विष्णु प्रसाद शर्मा, संजय बजिमय, महासचिवमा सम्झना शर्मा, कोषाध्यक्षमा सतिश कुमार कौशल (दीपक), सचिवमा सचिन रोक्का र सह–कोषाध्यक्षमा धिरज घिमिरे रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सूर्य कुमार सारु मगर, केशवराज ज्ञवाली, हरिश सेठिया, दीपक केसी, संजीव रोक्का, चन्द्र बहादुर थापा, नारायण कुंवर, विष्णु प्रसाद खरेल, रविन्द्र शर्मा घिमिरे, किशोर जोशी, राम मिलन यादव, पिताम्बर न्यौपाने, मधु प्रसाद पन्थी, कैलाश गुप्ता, अकरम खान, विष्णु गौतम र श्रीचन्द गुप्ता रहनुभएको छ । त्यस्तै सञ्जालको संरक्षकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, प्रमुख सल्लाहकारमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सल्लाहकारमा ओमकार गौचन, खिम बहादुर खत्री र नारायण प्रसाद भण्डारीलाई चयन गर्ने निर्णय गरेको छ ।