जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १५:४९

कोशी प्रदेशसभा अगाडि प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरी र प्रदर्शनकारी दुवैको टाउको फुट्यो


बिराटनगर, जेठ १४ । पहिचानको नाममा कोशी प्रदेशको नामाकरणको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीचमा झडप भएको छ । झडपमा दुवै पक्षका घाइते भएका छन ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका हुन । प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको छ । आज कोशी प्रदेशसभाको बैठक बोलाइएको छ । अहिले कोशीसभा सचिवालय अगाडि झडप भइरहेको छ । झडपका कारण विराटनगरको स्थिति तनावग्रस्त छ ।

यसैबीच कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक २ बजेर २० मिनेटमा प्रदेशसभा बैठक सुरु भएको हो । अहिले दलका नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । बाहिर भने कोशी नामकरणको विरोधमा पहिचानवादीहरुले प्रदर्शन गरिरेहका छन् । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

देवकोटा चोकमा प्रर्दशनकारी र प्रहरी बिच झडप भएको छ । प्रर्दशनकारीले हानेको ढुंगाले लागेर एक प्रहरी जवानको टाउको फुटेको छ । अन्य केही प्रहरी घाईते भएका छन् । प्रर्दशनकारी तर्फ पनि घाईते भएका छन् । घाईते भएका प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरी अस्पताल पठाएको छ । प्रर्दशनका क्रममा केही व्यक्तिलाई प्रहरीले पक्राउ पनि गरेको छ ।