जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १८:२४

सर्पको डसाइबाट जोगिन महोत्तरीमा युवाहरूको सक्रियता


महोत्तरी, १४ जेठ । गर्मी बढेसगैँ महोत्तरीमा युवाहरू सर्पको डसाइलाई न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम लिएर टोल–टोल पुग्न थालेका छन् । उत्तरवर्ती क्षेत्र बर्दिबासमा सर्पको डसाइलाई न्यूनीकरण गर्न युवाहरू सक्रिय बनेका हुन् । टोट्र्याक कलव अफ बर्दिबासमा आवद्ध युवा शनिबार दिनभरी नगरको विभिन्न वडामा पुगेका थिए ।

चिकित्सकसहित पर्चा, पम्पलेट लिएर टोल–टोलमा पुगेका युवाले घरदैलोमा पुगेर जनचेतना मात्र प्रवाह गरेनन् चोक र मानिसहरूको जमघट हुने ठाउँमा कोणसभासमेत गरे । नगरमा चैत्रदेखि भदौसम्म सर्पको विगविगी नै हुने हुँदा यहाँ सर्पकै कारण वर्षेनी ज्यान गुमाउनेको संख्या बढ्दो छ ।

सर्पदंश उपचार केन्द्र गौरिडाँडाका अनुसार आजभोली पनि दैनिक २ देखि ५ जना स्थानीय सर्पको डसाइवाट बिरामी बनेर भर्ना हुने गरेका छन् ।चिकित्सकका अनुसार सर्पले डसेका बिरामीलाई स्वासप्रस्वासमा समस्या बन्ने हुँदा भेण्टिलेटरको जरुरत पर्ने गर्छ ।

यहिँ विषयलाई लिएर स्थानीय सरकार र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएता पनि सुनुवाई हुन सकेको छैन । सर्पको डसाईकै कारण कसैले ज्यान गुमाउन नपर्ने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले दाबी गरेता पनि स्वास्थ्य मन्त्रालयले प्रदान गरेको भेण्टिलेटरसमेत एक वर्षदेखि बर्दिबास अस्पतालमा नै थन्किएको अवस्थामा छ । अघिल्लो वर्षमात्र यस नगरमा सर्पको टोकाइबाट दुई जनाले ज्यान गएको थियो ।