जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १८:४९

प्रधानमन्त्री भारत भ्रमण : एमालेले दियो यी पाँच सुझाव


काठमाडौं, १४ जेठ । जेठ १७ गतेबाट हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुख्य पाँच सुझाव दिएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा एमालेले मुख्य गरी पाँच सुझाव दिएको एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यी हुन् पाँच सुझाव :-

१. २०१६ मा प्रधानमन्त्रीले दुई देश बीचको सम्बन्धलाई २१औँ शताब्दी सुहाउँदो बनाउन आवश्यक सुझाव दिन भनेर बनाइएको प्रबुद्ध समूहले रिपोर्ट तयार गरेको ४ वर्ष भइसकेको छ । तर भारतको कारण यो रिपोर्ट अहिलेसम्म बुझ्ने काम पनि भएको छैन । कार्यान्वयन त टाढाको कुरा भयो, त्यसैले प्रधानमन्त्रीले त्यसमा विशेष जोड दिनुपर्छ । यो कार्यान्वयन हुँदा मात्रै दुई देश बीचको सम्बन्धलाई नयाँ आयाम दिन्छ भन्ने कुरा हामीले गरेका छौं ।

२. ऐतिहासिक तथ्य, प्रमाण सन्धि सबै कुराहरूले लिपुलेक, कालापानी, लिम्पियाधुरा सहितका भू-भाग नेपालका हुन् भन्ने प्रस्ट छ । यी भू–भागलाई नेपालले प्रयोग गर्न पाउनुपर्ने गरी टुङ्ग्याउनुपर्छ । यसलाई गम्भीरतापूर्वक राख्न भनेका छौँ ।

३. नेपाल–भारत व्यापारमा असाध्यै ठुलो घाटा छ । वाणिज्य सन्धिको पुनरावलोकन, नेपालका चिया, अलैँची, अदुवा, जुट र तरकारीलगायतका वस्तुको निर्बाध प्रवेशका लागि पुनरावलोकन हुनुपर्छ । नेपालको उत्पादनका लागि भारतको उदार रवैयाका लागि पहल गर्न भनेका छौँ ।

४. पञ्चेश्वर परियोजना लामो समयदेखि अड्किएको छ, २५ वर्षभन्दा बढी भइसक्यो । मुख्यतः पञ्चेश्वरमा पानीको बाँडफाँट अहिलेसम्म नटुङ्गिएको विषय हो । महाकाली सीमा नदी हो र त्यसको आधा पानीमा नेपालको हक लाग्ने कुराको सुनिश्चित गरेर मात्र यो विषय टुङ्ग्याउन भनेका छौँ ।

५. ऊर्जाका हकमा भारतले लामो समयदेखि होल्ड गरेर नेपालका नदीहरू राखेको छ । जस्तो अपर कर्णाली, पश्चिम सेती र एएसआर पनि भारतलाई दिने भनिएको छ । होल्ड मात्र हुने र नेपालले लाभ नहुने स्थिति बन्छ । त्यसैले परियोजना होल्ड मात्र नभएर त्यसको कार्यान्वयनका लागि टाइम बाउन्ड्री बनाएन र अपर कर्णालीको टुङ्गोमा पुगेर मात्र बाँकी सम्झौतामा अघि बढ्ने राम्रो हुन्छ भनेका छौँ । पूर्व समझदारी अनुसार एयर कन्ट्री रुट दिलाउने कुरामा गम्भीरतापूर्वक कुराकानी गर्न भनेका छौँ ।