जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १३:३०

प्रधानमन्त्रीको भारत भ्रमणमा जम्बो टोली (सूचीसहित)


काठमाडौं, जेठ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा अहिलेसम्मकै सवैभन्दा जम्बो टोली हुने भको छ । यही जेठ १७ देखि हुन लागेको प्रधानमन्त्रीको चारदिने भारत भ्रमणमा जम्बो टोली बनेको हो ।

भ्रमण टोलीको औपचारिक सूचीमा सरकारी र निजी क्षेत्रका गरी ८८ जनाको नाम समेटिएको छ । परराष्ट्र मन्त्रालयले यो सूचीमा अझै केही सदस्य थपिने जनाएको छ । प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उहाँको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव रहेका छन ।

परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल टोलीमा सहभागी हुनुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार कृषिमन्त्री वेदुराम भुसालको पनि जान इच्छुक देखिनुभएकोले थपिने सम्भावना छ ।

यसैगरी टोलीमा मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृह सचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल रहनुभएको छ ।

प्रम सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल सहभागी हुनुहुनेछ । यस्तै प्रधानमन्त्रीका निजी चिकित्सक युवराज शर्मा र चार सुरक्षा अधिकारी पनि सहभागी छन ।

यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्र मन्त्रालयका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगाना, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाललाई पनि टोलीमा समेटिएको छ ।

यसैगरी उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, गेटा मेडिकल कलेजका निर्देशक प्रमोद जोशी, विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशसिंह प्रधान पनि टोलीमा सहभागी हुनुहुनेछ ।

सरकारी प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका ५ अधिकारीको नाम समावेश छ । सरकारले खर्च बेहोर्ने भ्रमण टोली सदस्यको संख्या भने ४७ जना रहेको छ ।

निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, कन्फेडेरेसन अफ नेपलिज् इन्डस्ट्रिजलगायत संस्थाका प्रतिनिधिहरू भ्रमण टोलीमा हुनेछन ।