जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार २०:२३

राष्ट्रपतिबाट आममाफी पाएका रेशमको दुई वटी श्रीमती


काठमाडौं, जेठ १५ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा आममाफी दिनुभएका टिकापुर घटनामा दोषी ठहर रेशमलाल चौधरीले बहु बिवाह गरेको तथ्य खुलेको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहनुभएका पूर्वसांसद चौधरी कारागारबाट रिहा भएलगत्तै उहाँले बहुविवाह गरेको तथ्य उजागर भएको हो ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि डिल्लीबजार कारागारमा जन्मकैदको सजाय भुक्तान गरिरहनुभएका चौधरी राष्ट्रपतिले आममाफी दिएपछि आज रिहा हुनुभएको हो । आममाफी पाएर रिहा भएलगत्तै रेशमकी दोस्रो पत्नी आशा चौधरीले बधाई दिँदै छोरीसहितको तस्विर सार्वजनिक गरेपछि यो तथ्य बाहिर आएको हो ।

हाल बर्दीयामा रेडियो चलाएर बस्नुभएकी आशाले एक छोरीसहितको तस्विर सार्वजनिक गर्नुभएको छ । आज बिहान डिल्लीबजार कारागारबाट बाहिर आएपछि फेसबुकमार्फत आशाले रेशमलाई बधाइ तथा स्वागत गर्नुभएको हो । रेशमसँग आफ्नी छोरीसहितको फोटो राख्दै स्वागत तथा बधाइ दिनुभएको छ । रेशम र छोरीसहित तीन जनाको तस्विर राखेर आशाले लेख्नुभएको छ, ‘कङ्ग्य्राटुलेशन बुढा, बधाई ।’

हेर्नाेस आशाले फेसबुकमा गरेको पोष्ट

महेन्द्रनगरपोस्टका पत्रकार टेकसिंह धामीले यो फोटोको स्क्रीनसट गरेका हुन

सो पोष्ट अहिले आशाको फेसबुकबाट हटाइसकिएको छ ।  रेशमकी अर्की पत्नी रञ्जीता श्रेष्ठ हाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भूमि ब्यवस्था तथा सहकारी मन्त्री हुनुहुन्छ । उहाँ नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पनि हुनुहुन्छ ।

काठमाडौंको क्षेत्रपाटीमा जन्मिएकी रन्जिताले रेशमसँग अन्तरजातीय विवाह गर्नुभएको हो । रञ्जीताले रेशमको एक छोरा हुर्काइरहनु भएको छ । २०७२ भदौ ७ गतेको टीकापुर घटनामा दोषी ठहर भएका रेशमलाई मात्रै माफी दिइएको हो। अन्य पाँच जना अहिले पनि कारागारमा छन्। बाँकी २९ जना फरार छन्।

थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो। सोही घटनामा दोषी ठहर भइ आजीवन काराबासको सजाय पाएका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर सजाय माफी दिएपछि चौधरी सोमबार बिहान रिहा हुनुभएको हो । जेलमुक्त भएसँगै दुई श्रीमतीको पोइ भएको तथ्य उजागर भएको हो ।

धनगढी उपमहानगरपालिका–६ स्थित जालीमा माइत रहेकी आशासँग रेशमले टीकापुर घटना हुनुभन्दा पहिला नै दोस्रो बिवाह गर्नुभएको बताइएको छ ।