काठमाडौं, जेठ १६ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको बजेटले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने ठोकुवा गर्नुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा युवा संघले आज आयोजना गरेको व्यक्तित्व सम्मान तथा समृद्ध नेपाल सुखी नेपाली विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशको अर्थतन्त्र इतिहासकै खराब अवस्थाबाट गुज्रिरहेका बेला पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताउनुभयो ।
देशको अर्थतन्त्र धरासायी भएको बेला अर्थमन्त्री डा. प्रकाशरण महतले यथार्थ बताउनुको सट्टा बजेट ढाकछोप गर्न खोज्नुभएको उहाँले बताउनुभयो । स्थानीय तह र प्रदेश सरकारको बजेट कटौती गरिएको र सांसद् विकास कोष ब्युँताइएकोमा उपमहासचिव ज्ञवालीले कडा आपत्ति जनाउनुभयो ।
कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आएको, महंगी बढेको, व्यापार–व्यवसाय चौपट भएको, व्यवसायीहरु अतालिएको, युवाहरु विदेश पलायन हुने क्रम बढेको बेला सरकारले ल्याएको बजेटले यी विषय सम्बोधन गर्न नसक्ने ज्ञवालीको भनाई छ । ’यतिबेला देशको अर्थतन्त्र साह्रै अप्ठेरो संकटमा छ, नेपालमा कहिल्यैपनि आफ्नो राजश्वबाट सरकारी कर्मचारीलाई तलब–भत्ता पुर्याउन नसकेको स्थिति इतिहासमा कहिल्यै भएको थिएन, तर आज हामी यो ठाउँमा छौं राजश्वले सरकारको दिनानुदिन खर्च धानिरहेको छैन,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो ।
वृद्ध भत्ता, स्वास्थ्य बीमा, अन्य सामाजिक सुरक्षा कार्यक्रम रोकिन्छन् कि भन्ने डरलाग्दो चिन्ता देखिएको उहाँले बताउनुभयो । कोभिड र द्वन्द्व कालमा पनि नअत्तालिएका व्यवसायी अहिले अत्तालिइरहेका भन्दै उपमहासचिव ज्ञवालीले ३५–४० प्रतिशत सटरमा ताला लगाइएको र व्यवसाय बन्द भएको अवस्था रहेको बताउनुभयो ।
सक्ने युवा युरोप–अमेरिका र नसक्ने खाडी–मलेसियातिर जाने डरलाग्दो अवस्था सृजना भइरहेको उहाँले बताउनुभयो । प्लस टु गरेका विद्यार्थी समेत देशमा टिक्न नसक्ने र विद्यालय शिक्षा सकिँदासाथ विद्यार्थीहरुले खाडीमा भेटौंला भनेर लेख्नुपर्ने असाध्यै पीडादायक अवस्थाबाट देश गुज्रिरहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीले थप्नुभयो, ’यस्तो बेलामा बजेट आउँदा अर्थमन्त्रीले कुनै ढाकछोप होइन, हामी साह्रै अप्ठेरोमा छौं, यसका विभिन्न कारण छन्, तर देश साह्रै अप्ठेरोमा परेकाले मैले निर्मम भएर खर्च कटौती गर्छु, देशको अर्थतन्त्रलाई संकटबाट जोगाउछु भन्नुपर्थ्यो तर उहाँले ढाकछोप गर्नुभयो, अलिअलि सुस्तता छाएको छ, अलिअलि वृद्धिदर रोकिएको छ, अलिअलि सुस्तता छाएको मात्र हो र अर्थतन्त्रको ?’
संघीयता बलियो बनाउने प्रयास भइरहेका बेला अर्थमन्त्री महतले पालिका र प्रदेशमा जाने बजेट कटौती गरेकोमा उहाँले कडा आपत्ति जनाउनु भयो । पालिकामा पठाउने ४ खालका रकममध्ये सबैभन्दा महत्वपूर्ण समानीकरण अनुदान रहेको र सो अनुदानले सबैलाई लेबलमा ल्याउने भन्दै उहाँले सो अनुदान अर्थमन्त्रीले घटाउनुभएको बताउनुभयो । सरकारको ततबिजमा पठाउने सशर्त अनुदान बढाइएको भन्दै उपमहासचिव ज्ञवालीले बजेटले संघीयताको मर्म नबुझेको र अनुदान घटाउने विषय संघीयता कमजोर बनाउने तरिका भएको बताउनुभयो ।
देश नै आर्थिक संकटमा परेको बेला सरकारले सांसद विकास कोष भनिने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम ब्युँताएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, ’देश अप्ठेरोमा परेका बेला सरकारले सांसद् विकास कोष भनिने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम जरुरी थियो र ? विकास गर्नका लागि त गाउँपालिका छँदै छन् त, प्रदेश छ त ।’ यसबारेमा काठमाडौंका मेयर बालेन शाहले मिठो व्यंग्य दिनुभएको समेत उहाँले बताउनुभयो ।
अहिले पालिका र प्रदेशलाई बलियो बनाएर प्रणालीलाई बलियो बनाउनुपर्ने भन्दै उहाँले ५–१० लाखका योजना बाँडेर चुनाव जित्छौं भन्ने खालका क्रियाकलाप रोक्नुपर्ने बताउनुभयो । बजेटका नीति तथा कार्यक्रमले आगामी दिनमा संकट अझ बढ्ने देखिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
देशलाई अर्थतन्त्र संकटबाट कसरी जोगाउने, भ्रष्टाचार विरुद्ध साझा आवाज कसरी उठाउने, राष्ट्रिय हितको रक्षा कसरी गर्ने भन्ने साझा विषयमा सबै दल एकै ठाउँमा उभिन जरुरी रहेको बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्