जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार १३:११

कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री लिम्बुलाई राजीनामा दिन निर्देशन


बिराटनगर, जेठ १७ । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाले सरकारबाट बाहिरिने निर्णयसहित आज स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै मन्त्री लिम्बूलाई फिर्ता बोलाइएको जसपाले जनाएको छ ।

बुधबार इटहरीमा बसेको प्रदेश समितिको बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता बोलाएको हो । कोशी नामाकरणको विरोधमा भइरहेको पहिचान पक्षधरको आन्दोलनमा जसपाले समर्थन जनाउँदै आएको छ ।

सरकारमा पनि बस्ने, आन्दोलनमा पनि समर्थन गर्ने कुरा नमिलेको भन्दै आलोचना भइरहेका बेला जसपा सरकारबाट बाहिरिएको हो । साथै मन्त्री लिम्बूले सदनमा नामाकरणका बेला विपक्षमा हस्ताक्षर नगरेकाले पनि पार्टी नेतृत्व उनीसँग असन्तुष्ट भएको बुझिएको छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको कारण सात वटा प्रदेशमध्ये कोशीमा मात्रै एमालेले सरकारको नेतृत्व गरिरहेको छ ।
मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थन रहेको छ । जसमा माओवादी केन्द्रबाट जीवन आचार्यले पर्यटन, वन तथा वातावरण र दुर्गा चापागाईंले सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको १ जना प्रदेश सांसद छन् । माओवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा मात्रै कोशी प्रदेशमा सरकार फेरबदल हुने छ ।

यो अवस्थामा माओवादीबाट सभामुख भएका बाबुराम गौतम निर्णायक देखिनु भएको छ । कांग्रेस र जसपाले सभामुखलाई राजीनामा दिन लगाएर सून्यको अवस्थामा सरकार गठन गर्ने गृहकार्य पनि अघि बढाएको छ । सभामुखले राजीनामा दिएको अवस्थामा पुनः सभामुख भने नबनाउने खेल माओवादीभित्रै देखिएको छ ।