जनता टाइम्स

१७ जेष्ठ २०८०, बुधबार १३:२६

प्रधानमन्त्री दाहाल भारत प्रस्थान, यस्तो छ चार दिने कार्यतालिका


काठमाडौं, जेठ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री दाहाल नेतृत्वको टोली केहीबेर अघि भारत प्रस्थान गरेको हो ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणअघि मृत रहेको बिवादास्पद नागरिकता सम्बन्धी बिद्येयकलाई भारतकै चाहनाअनुसार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण गराउनु भएको छ । भारतले भ्रमणअगावै सो बिद्येयक प्रमाणिकरण हुनुपर्ने सर्त राखेको भन्दै दाहालले प्रमाणिकरण गराउनु भएको हो ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित मन्त्रीहरु सहभागी हुनुहुनछ । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो २ः२५ बजे दिल्ली अवतरण हुने तालिका छ । नयाँदिल्लीमा दाहाललाई भारतका राज्यमन्त्री र विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नेछन्। त्यसपछि प्रधानमन्त्री प्रचण्ड सीधै होटल मौर्य प्रस्थान गर्नुहुनेछ । त्यहाँ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गर्ने बताइएको छ।

डोभलसँगको भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुने कार्यक्रम छ । रात्रिभोजका क्रमा प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

बिहीबार बिहान ११ः०५ बजे प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ। त्यसअघि उहाँले राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ । लगत्तै केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुने र पत्रकार सम्मेलनमा दुवै प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ। अपराह्न साढे चार बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ । यस्तै साँझ साढे पाँच बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

तेस्रो दिन प्रधानमन्त्री प्रचण्डले मध्यप्रदेशको उज्जैनमा महाकालेश्वरको पूजाअर्चना गर्नुहुनेछ । त्यसपछि उहाँ इन्दोर प्रस्थान गर्ने कार्यसूची रहेको छ। त्यही दिन प्रधानमन्त्री दाहालले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्ने कार्यतालिका छ । भ्रमणको चौथो दिन अपराह्न ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको भ्रमण दलमा भारतले ४७ जनाको कोटा तोके पनि १२० जनाभन्दा बढी रहेका छन ।