जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १६:४६

सेयर बजार ५३.०३ अंकले बढ्यो


काठमाडौ, २१ जेठ । सरकार र लगानीकर्ताबीच सहमति भएपछि सेयर बजारमा उत्साह छाएको छ । आज नेप्से सूचक ५३.०३ अंकले बढेर १९१९.३७ विन्दुमा आइपुगेको छ । १ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार हुँदा ३ कम्पनी सकारात्मक सर्किटको लेबलमा कारोबार भएको छ । यसअघि करका विषयमा अन्योलता बढ्दा बजार ३ दिनमै बेस्सरी प्रभावित भएको थियो ।

आज अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हालख कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट पार्नुभयो । त्यतिमात्र होइन, यसमा अर्थ मन्त्रालयले लिखित विज्ञप्ति नै जारी गरेको छ । यस्तै, अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच हस्तक्षरसमेत भएको छ । यही खबर बाहिर आएपछि सेयर बजारमा रौनकता छाएको हो । अब सरकारले विद्यमान पुँजीगत लाभकरका दरलाई नै अन्तिम कर मान्नेछ ।

सरकारसँग सहमति हुनुअघि लगानीकर्ताले ५० वटै ब्रोकर कार्यालय बन्द गराएका थिए । सेयर कारोबार पनि ठप्पप्रायः बनेको थियो । यस दिन २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र चिलिमे हाइड्रोपावर बढेका छन् ।