जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १९:१६

जनप्रतिनिधि नै घरेलु हिंसामा संलग्न


महोत्तरी, २१ जेठ । घरेलु हिंसा अन्त्यको लागि सार्वजनिक कार्यक्रममा बोलिरहने जनप्रतिनिधि नै हिंसाको पीडक बने भन्दा सवैलाई अचम्म लाग्न सक्छ । तर, महोत्तरीको भंगाहा नगरपालिकाका एक जना जनप्रतिनिधि यस्तै अपत्यारिलो घटनाको प्रमाण आफैँ बनेका छन् । आफ्नै श्रीमती र छोरीले वडा नम्बर ४ का वडा अध्यक्ष गणेशप्रसाद महतोले दिने गरेको पीडा सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो ।

१८ वर्षीय छोरी अल्पना कुमारी महतोले आमा ललिता देवीलाई दिएको दुःखको विषयमा बुवालाई सम्झाउँदा उल्टै कुटपिट गर्ने गरेको बताएकी छन् । ‘बुवाको मोबाइलमा अस्वभाविक हर्कतको विषयमा थाहा पाएपछी सोधे, बुवाले उल्टै कुटपिट गर्नुभयो,’ छोरी अल्पनाले भनिन्,‘घरमा खाना खान कम आउने, मम्मीको कोठामा नसुत्ने, काली भइस भन्ने गर्नुहुन्थ्यो ।’

टिकटकमा परस्त्रीसगँ नाच्ने र बुवाको हर्कत संकास्पद देखिएपछि मम्मी र परिवारका अन्य सदस्यलाईसमेत भनेको उनले बताइन‍् । गत हप्ता ललिता देविलाई अध्यक्ष महतोले कुटपिट गरेपछि अहिले उनी माइतमा नै बस्दै आएकी भाइ श्यामसुन्दर महतोले बताए । अध्यक्ष महतोको अस्वभाविक हर्कतको विषयमा छोरी अल्पनाले टिकटिकमासमेत सहायता मागेकी छन् । आमाका पक्षमा बोल्दा आफूले पनि कुटाइ खानुपरेको उनले सुनाइन् ।

अध्यक्ष महतोको घरेलु हिंसाको घटना यो नै पहिलो भने होइन । २०६४ सालमा पनि श्रीमती ललितालाइ निर्घात कुटपिट गरेपछी प्रहरी कार्यालयबाट कागज गरेर मिलापत्र भएको पाइएको छ । कागजमा श्रीमती र परिवारका सदस्यलाई कुनै दुःख नदिने प्रतिबद्धता जनाएता पनि पुनः घटना दोहोर्याएको स्थानीय बताउँछन् । उता महतो भने छोरी र श्रीमतीले आरोप लगाएको जस्तो नभएको दाबी गर्छन् । परिवारका लागि आफ्नो दायीत्व निर्वाह गरिरहेको बताए ।