जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार १६:०४

छोरीलाई फर्स्ट लेडी माने नातिनी सेकेन्ड लेडी : अध्यक्ष ओली


काठमाडौं, २२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा अनेकन कूटनीतिक कमजोरी छताछुल्ल भएको बताउनुभएको छ । आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले भारत भ्रमणका क्रममा पिएका रुपमा रहेकी छोरीलाई प्रचण्डले फर्स्ट लेडीका रुपमा प्रस्तुत गरेको भन्दै आलोचना गर्नुभयो ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा पिए छोरी छेउमा देखिन्छिन् । तर परराष्ट्र मन्त्री छैन, परराष्ट्र सचिव छैनन्’, उहाँले भन्नुभयो, ‘फर्स्ट लेडी भनेको श्रीमती हुन्छन्, छोरा वा छोरी हुँदैनन् । फर्स्ट लेडी भनेर परिवारका सदस्यलाई भनिँदैन ।’ उहाँले यदि भ्रमणमा छोरा लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने अवस्था आउने पनि बताउनुभयो ।

‘छोरालाई लाने हो भने फर्स्ट जेन्टलम्यान भन्ने त ? नातिनी लिएर जाँदा सेकेन्ड लेडी भन्ने त’, उहाँले थप्नुभयो, ‘वार्तामा परराष्ट्र मन्त्री हुनुपर्छ, मन्त्रीहरु हुनुपर्छ। शिष्टाचार महापाल हुनुपर्छ ।’ प्रधानमन्त्रीको भ्रमणमा अफिसियल मेमेरीका लागि टिपोट समेत नगरिएको भन्दै ‌ओलीले आलोचना गर्नुभयो । उहाँले भ्रमणबारे पनि प्रश्न उठाउनुभयो । ‘यो भ्रमण फ्यामिली कि लागि हो कि धार्मिक हो कि पर्यटकीय हो कि के हो ?’, उहाँले भन्नुभयो,‘यस्तो खालको कमजोर कूटनीतिक उपस्थिति यसअघि देखिएको थिएन ।’