जनता टाइम्स

२३ जेष्ठ २०८०, मंगलवार १५:१५

पर्साका नदीपीडितलाई गृहमन्त्रीले ढाँटे, माइतीघर आउँछु भनेका श्रेष्ठ पुगे खप्तड


काठमाडौं, २३ जेठ । पर्साका सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने मागसहित माइतीघरमा आन्दोलन बसेका आन्दोलनकारीहरूलाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ खप्तड पुग्नुभएको छ । पर्साका नदीपीडितहरु माइतीघरमा धर्ना बसेको ११ दिन भइसकेको छ तर सरकारले अझै त्यसलाई सम्बन्धन नगरेको गुनासो आएको छ ।

उनीहरुले हिजो मात्रै श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए । आज ११ बजे आन्दोलन स्थलमै आएर मागलाई सम्बोधन गर्ने आश्वासन मन्त्री श्रेष्ठले दिनुभएको थियो । तर आन्दोलन स्थल माइतीघरमा नआएर मन्त्री श्रेष्ठ आध्यात्मिक सम्मेलनमा भाग लिन खप्तड पुग्नुभएको छ ।

मन्त्री श्रेष्ठ यता (माइतीघर) आउनु हुन्छ हाम्रो मागलाई सम्बोधन गर्नुहुन्छ भनि बाटो पर्खेर बसेका थियौँ तर उहाँ सम्मेलन उद्घाटनमा सहभागी हुन उता लाग्नुभएछ, आन्दोलनको अगुवाइ गरिरहेका सामाजिक अभियन्ता सरोज रायले भन्नुभयो, ‘हिजो गृहमन्त्रीज्यूसँग भेट्दा निकै सकारात्मक कुरा गर्नुभयो र ११ बजे माइतीघर आउँछु भन्नुभएको उहाँ खप्तडतिर पो लाग्नुभएको छ ।’

आफूहरूको माग पुरा नभएसम्म माइतीघरबाट नफर्किने आन्दोलनकारीले बताएका छन् । सरकारले आफूहरूको मागप्रति गम्भीर नभएको आरोप लगाउँदै उहाँले माइतीघरमा धर्ना बसेकै दिन उद्योग मन्त्री रमेश रिजाल आएर आन्दोलनप्रति ऐक्यबद्धता जनाएपनि अहिले बेवास्ता गरेको आरोप लगाउनुभयो ।